उकेरा मन्थन

दशैं विशेष

दशैंसँगै कालो टीका लगाएर मोहनी मनाउँछन् नेवार समुदाय


नेवार समुदायको एउटा महत्वपूर्ण चाड हो मोहनी। अहिले अधिकांश नेवारले मोहनीलाई नै दशैं भन्न थालेका छन्। नेवारले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मोहनी चाड मान्ने र विभिन्न देवी-देवताको जात्रा पनि गर्दै आइरहेको पाइन्छ।

१७ औं, १८औं शताब्दीमा ग्रिक सभ्यतामा विकसित भएर लोप भइसकेका देव-देवीका नाच उपत्यकामा देवी नाचका रूपमा सञ्चालन भइरहेको छ।

दशैंको पहिलो दिन घटस्थापना भए झैं मोहनीको पहिलो दिन पनि घटस्थापना नै हो। घर-घरमा जमरा रोपेपछि दशैं जस्तै मोहनी पनि आरम्भ हुन्छ। दशैंको जमरा रोपिसकेपछि बाँकी दिनमा कुनै पनि धार्मिक कार्य गर्नु हुँदैन।

मोहनीमा अष्टमी, नवमी र दशमी सबैभन्दा महत्वपूर्ण हुन्छ। अष्टमीका दिन बेलुकी कुलकै सम्पूर्ण सदस्य एकै ठाउँमा बसेर भोज खाइन्छ। सम्पूर्ण कुलै एकै ठाउँ बसेर खाइने भएकाले यसलाई कुलभोज अथवा कुछिभ्वय् भनिन्छ। केराको पातमा २ माना चिउरा राखेर भोज खाइछ। 

कुछिभ्वय्कै दिन बिहान आफ्नो पेशासँग सम्बन्धित सम्पूर्ण ज्यावल कोठामा राखिन्छ। रातभरि अनुष्ठान गरिएका ती सामग्रीलाई भोलिपल्ट अर्थात् नवमीको दिन पशुपछी वा अन्डा बलि चढाई पूजा गरिन्छ।

नेवारी संस्कृति अनुसार नवमीको दिन स्याक्वत्याक्व भनेर धनधान्य र अस्त्रशस्त्रको सधै स्थिर भएर रहन पाइयोस् भन्ने उद्देश्यले विभिन्न देव-देवीलाई कुखुरा, हाँस, बोका, राँगो बली दिइन्छ। यसका साथै गणेश र भैरवलाई पनि बली दिएर पूजा गरिन्छ।

घरैपिच्छे आगममा पूजा गर्दा पनि नेवारी संस्कृतिअनुसार चामल, चिउरा, घण्ट, साँचो, पुस्तक, कुटो कोदालोका साथै आ-आफ्ना पेसा अनुसार सामग्री राखेर पूजा गरेर यो दिन माटोको भाँडोमा मोहनी टीका थाप्ने गरिन्छ।

नेवारी संस्कार अनुसार मोहनी टीका थापेर तन्त्र साधना गर्ने दिन भएकोले नेवारीमा दसैलाई मोहनी भन्ने गरिएको हो। यो दिन विभिन्न कलकारखाना, कार्यालय, पसल, मेसिन र सवारी साधनलाई पनि बली दिएर पूजा गर्ने चलन छ। आगममा पनि बलि दिने चलन छ। यो दिन बसन्तपुर दरबारमा तलेजु भवानीलाई १ सय ८ सरकारी र अन्य गरेर हजारौँ राँगा, बोका बली दिने गरिन्छ।

त्यसको भोलिपल्ट दशमीका दिन आगममा अनुष्ठान गरी जमरा झिकिन्छ। दशैं मनाउनेहरूले उक्त दिन निधारमा रातो टीका लगाउँछन्। तर मोहनीमा रातो होइन, कालो टीका लगाइन्छ। त्यो कालो टीकालाई मोहनी सिन्हः अर्थात् मोहनी टीका भनिन्छ। नेवार जातिले मोहनीमा लगाउने मुख्य टीका नै यही हो। यो कालो टीका पनि पूरै एक रात अनुष्ठान गरी बनाइएको हुन्छ।

नवमीको रातदेखि दशमीको बिहानसम्म आगम कोठामा तलतिर एउटा दियोमा बत्ती बाली त्यसको माथि माटोकै अर्को पाला राखेर बत्तीको धुवाँबाट यो टीका तयार गरिन्छ। यो टीका आगम कोठामै तयार गरिएको हुनुपर्छ। यो टीका नै वास्तवमा शक्तिको प्रतीक हो। अहिले मोहनीमा अक्षेताको रातो टीका पनि लगाइन्छ तर त्यो पछि मात्रै आएको चलन हो। 

मोहनीका यी अन्तिम तीन दिन लहरै मनाइन्छ। अष्टमी, नवमी र दशमीमध्ये कुनै तुते तिथि रहेको छ भने पनि मोहनीले त्यसलाई पालना गर्दैन। त्यसको गणना नगरी तीन दिनै लहरै पर्व मनाइन्छ।

यस सन्दर्भमा संस्कतविद् बाबुराम प्रधान भन्छन्, मोहनीमा कुछिभ्वय्को दिन स्याक्वत्याक्व गर्न मिल्दैन। स्याक्वत्याक्वको दिन चालं अर्थात् मोहनी टीका लगाउन मिल्दैन। कहिलेकाहीं पञ्चांग निर्णायक समितिले निकाल्ने क्यालेन्डरमा यही तीन दिनमध्ये एक दिन तिथि तुते पनि हुन्छ। तर त्यस्तो बेला पनि मोहनी पर्व तीन दिनै मनाइन्छ।

मोहनी र दशैं दुवै शक्तिको पूजा गर्न पर्व हो। तर दसैंमा दुर्गाको पूजा गर्नुको अर्थ शक्तिको उपासना गर्नु मात्रै हो। तर मोहनीमा शक्तिको उपासना मात्रै गरिँदैन, तान्त्रिक विधिबाट आफू वा आफूले प्रयोग गर्ने विभिन्न साधनहरूमा शक्तिको प्रत्यारोपण समेत गरिन्छ। अर्थात् शक्तिको पूजाका साथमा शक्तिको धारण समेत गरिन्छ।

शक्तिको उपासना गरी प्राप्त भएको शक्तिलाई धारण गरी बाहिर प्रकट गर्ने एउटा अर्को परम्परा मोहनीमा छ, जसलाई पायो निकाल्ने भनिन्छ। तान्त्रिक उपासनाबाट प्राप्त भएको शक्तिको प्रयोग गरी खराब तत्वको नाश गर्ने प्रतीकस्वरूप काठमाडौंका विभिन्न टोलमा खड्ग समाई पायो निकालिन्छ। उक्त पायोले सडकको चौबाटोमा फर्सीलाई मार हान्ने चलन छ। यो मोहनीको मौलिक परम्परा हो। 

दशमीका दिन घरैपिच्छे थकालीले बिहान सबेरै चोखोनितो गरेर आगममा पूजा गरेर फूल—प्रसाद झिक्छन्। फूल—प्रसाद लिएर मोहनी गरिराखेको कालो टीका लगाएमा आगम देवताको देवत्व प्राप्त भएर सिद्धि पाइन्छ भन्ने मान्यता छ। थकालीले जहान—परिवार सबैलाई टीका लगाइदिएर फूल—प्रसाद दिने गर्छन्। सबैले पञ्चमकारको प्रसादका साथै देवीको प्रसाद समयवजी खाने गर्छन्। 

विजयादशमीको टीकापछि कोजाग्रत पूर्णिमासम्मै आफूभन्दा ठूलाका घरघरमा गई टीका थाप्ने चलन दशैंमा छ। तर मोहनीमा त्यसरी घरघरै गएर टीका लगाउँदैनन्। जहाँ बोलाइन्छ, त्यही मात्र गइन्छ। टीका थाप्न बोलाउने कामलाई नखत्या सःतेगु भनिन्छ। नखत्यामा भोज खुवाइन्छ। साथै मोहनीको सम्बन्ध तिहारमा मनाइने लक्ष्मीपूजासम्म जोडिएको हुन्छ। मोहनीको स्याक्वत्याक्वका दिन बलि दिइएको एक टुक्रा मासु लक्ष्मी भाग भनी अलग्गै छुट्याइएको हुन्छ। त्यो मासुको टुक्रालाई खंला भनिन्छ। 

दशैंको १५ दिनपछि मनाइने लक्ष्मीपूजाका दिन त्यही खंला चढाएर लक्ष्मीको पूजा गर्नुपर्छ। यसरी नेवार जातिले मनाउने मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्मै जोडिएको हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

महिला हिंसाविरुद्ध 'सडक नाटक' गर्दाको अनुभव: 'मलाई प्रहार गर्नेहरूलाई टोक्न, भुत्ल्याउन मन लागिरहेको हुन्छ'

चरा खुला आकाशको विम्ब हो। चरा स्वतन्त्रताको प्रतीक हो। चरा उँचाइको विम्ब हो। चरा उडानको विम्ब हो र चरा सबैसबै संङ्कुचन, द्वेष, बाध्यता र शोषित....

रविमाथि उठेका कानुनी प्रश्नबारे स्वतन्त्र पार्टीका प्रवक्ता भन्छन् 'जनताले अनुमोदन गरिसके, अब यसबारे किन बोल्नुपर्‍यो?'

उकेराले यी कानुनी प्रश्नहरूबारे लामिछानेसँगै कुरा गर्ने प्रयास गरेका थियौँ। तर उनी सम्पर्कमै नआएपछि यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालसँग कुरा गर्‍यौँ। ढकालको उत्तरले....

संसारलाई झुक्याउने किट्टियाको फोटोग्राफीमा पहिल्यैदेखि 'कन्भिन्स्ड' थिएनन् फोटोपत्रकार चन्द्रशेखर कार्की

अस्वाभाविक प्रकाश र कोलाज इफेक्ट (तस्बिरहरू जोडिएको) हुनसक्ने आकलनपछि अल्पाइनम्याग्ले यसबारे खोज गरेको रहेछ। जसमा किट्टियाले सार्वजनिक गरेको चारमध्ये तीन फोटो म्यानिप्युलेट गरिएको तथ्य अगाडि....

निर्वाचन डायरी: काठमाडौंका मतदान केन्द्रमा 'लाइन' कम भएको अधिकांशको अनुभव

मतदान गर्न पुग्नेले यसपालि सहज रूपमा मतदान गरेको पनि बताए। मतदानका लागि लामो 'लाइन' नभएकाले सहज भएको मतदाताको भनाइ थियो। बानेश्वर क्याम्पस मतदान केन्द्रमा मतदान गरेर....

पाँच वर्ष पछुताउनु नपर्ने गरी मताधिकार प्रयोग गरौँ

आज हामी मतदाताले मतदानमार्फत जस्तो जनादेश दिन्छौँ आगामी पाँच वर्षको दृश्य त्यस्तै नै हुनेछ। योजना भएकालाई मत दिएर संसद्मा पठाए विकासको शिलान्यास हुनसक्छ, अनुशासितलाई पठाए....