चुरियामाई नजिकै बस दुर्घटना: दुई जनाको मृत्यु, ३६ घाइते

चुरियामाई नजिकै बस दुर्घटना: दुई जनाको मृत्यु, ३६ घाइते

काठमाडौं: महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएका प्रवक्ता कार्कीले बताए। काठमाडौंबाट झापातर्फ जाँदै गरेको ना७ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौं र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ। घाइते एक जनाको भने हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ।

१७ असोज, २०७९, ०९:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।