सुत्केरी व्यथासँग डराउँदै छन् महिलाहरू: सामान्य अवस्थामै सिजरिङ रोज्नेको जमात बढ्दै

सुत्केरी व्यथासँग डराउँदै छन् महिलाहरू: सामान्य अवस्थामै सिजरिङ रोज्नेको जमात बढ्दै

बुटवल: कपिलवस्तुको वाणगंगा नगरपालिका- ४ कि तुलसा भुसालले अघिल्लो सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा बच्चा जन्माइन्। गर्भावस्थामा स्थानीयस्तरमै नियमित चेकजाँच गराइरहेकी भुसालको पेटमा बच्चा ठीक अवस्थामा थियो। डाक्टरले नर्मल डेलिभरी गराउन सुझाव पनि दिँदै आएका थिए।

तर, उनले अप्रेशन (सिजरिङ) गरेर बच्चा जन्माइन्। नर्मल डेलिभरी हुँदा आफूलाई जोखिम हुने ठानेर सजिलोको लागि अप्रेशन गरेर निकालेको उनले बताइन्। 

‘सुरुका केही महिना अप्ठ्यारो हो। तर बच्चा सुरक्षित हुने भएकाले धेरैले अप्रेशनको सल्लाह दिएपछि त्यसै गरेकी हुँ’, उनले भनिन्।

गुल्मी धुर्कोटकी अमृता पन्थीले १५ दिनअघि बुटवलकै प्रादेशिक अस्पतालमा बच्चा जन्माइन्। गाउँकै स्वास्थ्य चौकीमा नियमित चेकजाँचका क्रममा बच्चा नर्मल डेलिभरी हुने अवस्थामै भएको डाक्टरले बताएका थिए। 

गाउँबाट उनी नर्मल डेलिभरी गर्नै भनेर बुटवलका आएकी थिइन्। यहाँ आएपछि उनको मन बदलियो। 

बुटवलकै एक निजी क्लिनिकमा बच्चा जन्मनु एक दिनअगाडि पनि चेकजाँच गर्दा पानीको मात्रा ठीक भएको र नर्मल डेलिभरी हुनसक्ने सल्लाह डाक्टर दिए। उनले अन्ततः डाक्टरको सल्लाह मानिनन्। पेट चिरेर बच्चा निकालिन्।

उनी भन्छिन्, ‘कतिपय साथीहरूले नर्मल डेलिभरी हुँदाको डर देखाएपछि अप्रेशन गरेँ।'

यी त प्रतिनिधि उदाहरण मात्र हुन्। पछिल्लो समय सामान्य रूपमा सुत्केरी हुने महिलाहरूको संख्या घट्दै जान थालेको छ। 

‘शून्य घरमा डेलभरी’ भन्दै पालिकाहरूले कार्यक्रम घोषणा गर्दै गए पनि र स्वास्थ्य संस्थामा पहुँच वृद्धि भए पनि सामान्य रूपमा सुत्केरी हुने महिलाहरूको संख्या घट्दै गएको तथ्याङ्कले देखाउँछ।

सिजर गरेर बच्चा निकाल्दा पेट चिर्नुपर्ने हुन्छ, टाँका लगाउनुपर्ने, निश्चित समयसम्म पूर्णरूपमा स्याहार सुसार चाहिने हुन्छ। त्यसैले चिकित्सकले यो उपाय नअपनाउन आग्रह गरे पनि अधिकांश महिलाले सजिलोका लागि सिजरिङ रोज्ने गरेका छन्।

सय वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालकै तथ्याङ्क हेर्ने हो भने हालसम्म नर्मल डेलिभरीको संख्या बढी भए पनि क्रमशः सिजर गरेर बच्चा जन्माउनेहरूको संख्या बढ्दै गएको छ।

प्रादेशिक अस्पतालमा सुत्केरी हुने महिलाहरूमध्ये झण्डै एक तिहाईले  सिजर गरेर बच्चा जन्माउने गरेका छन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार अस्पतालमा २०७८ को साउनदेखि २०७९ को असारसम्ममा १२ हजार ९३० जनाले प्रसूति सेवा लिए। जसमध्ये आठ हजार ५४५ ले नर्मल डेलिभरी गरे भने चार हजार ३६६ जनाले सिजरिङको सहायता लिए। 

सिजर गरेर बच्चा निकाल्दा पेट चिर्नुपर्ने हुन्छ, टाँका लगाउनुपर्ने, निश्चित समयसम्म पूर्णरूपमा स्याहार सुसार चाहिने हुन्छ। त्यसैले चिकित्सकले यो उपाय नअपनाउन आग्रह गरे पनि अधिकांश महिलाले सजिलोका लागि सिजरिङ रोज्ने गरेका छन्।

बढ्दो आधुनिकतासँगै खानपान, नियमित अभ्यास नहुनु र बढ्दो विलासी जीवनको कारण पनि महिलाहरूले सामान्य व्यथामा नै सुत्केरी हुनसक्ने शक्ति गुमाउँदै गएकाले अप्रेशन नै गर्न थालेको कपितय चिकित्सकको मत छ।

अस्पतालका अनुसार अघिल्लो आर्थिक वर्षको साउनमा एक हजार ११८, भदौमा एक हजार २८६, असोजमा एक हजार ३२४, कात्तिकमा एक हजार २०१, मंसिरमा एक हजार १७७, पुसमा एक हजार ११७, माघमा एक हजार १४३, फागुनमा ९९४, चैतमा ८८१, वैशाखमा ८४८, जेठमा ८२८ र असारमा एक हजार १३ जना गरी १२ हजार ९३० जनाले सुत्केरी सेवा लिएका छन्।

सिजर गर्ने कारण के?
कतिपय महिलाहरू सामान्य डेलभरीको पीडा सहन नसक्ने भन्दै कुनै जटिलता नभए पनि सिजरिङको बाटो रोज्छन्। यो जमात बढिरहेको छ।

आमा र बच्चाको अवस्थामा प्रतिकूल असर पर्ने अवस्थामा चिकित्सकको सल्लाह, सुझावअनुसार अप्रेशन गरेर बच्चा निकाल्ने गरिएकोमा पछिल्लो समयमा कतिपयले फेशनको रूपमा समेत यसलाई अपनाउँदा थप समस्या भएको डा. ढकालले बताए। 

बढ्दो आधुनिकतासँगै खानपान, नियमित अभ्यास नहुनु र बढ्दो विलासी जीवनको कारण पनि महिलाहरूले सामान्य व्यथामा नै सुत्केरी हुनसक्ने शक्ति गुमाउँदै गएकाले अप्रेशन नै गर्न थालेको कपितय चिकित्सकको मत छ।

१७ असोज, २०७९, ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।