पाकिस्तानको घरेलु मैदानमा इङ्ग्ल्याण्डले गर्‍यो श्रृङ्खला कब्जा

पाकिस्तानको घरेलु मैदानमा इङ्ग्ल्याण्डले गर्‍यो श्रृङ्खला कब्जा

काठमाडौं: गए राति सम्पन्न पाकिस्तान र इङ्ग्ल्याण्डबीचको सातौँ तथा अन्तिम टी ट्वेन्टी खेल इङ्ग्ल्याण्डले जित्यो। पाकिस्तानमाथिको ६७ रनको फराकिलो जितसँगै श्रृङ्खलामाथि नै इङ्ग्ल्याण्डको कब्जा भयो।

इङ्ग्ल्याण्डले ४-३ ले श्रृङ्खला जितेको हो।

गए रातिको खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय पाकिस्तानले गरेको थियो। ब्याटिङमा उत्रिएको इङ्ग्लिस टोलीले २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनायो।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानी टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो।

इङ्ग्ल्याण्डका लगि डाविड मलानले ७८ रनको शानदार पारी खेले। यस्तै ह्यारी ब्रुक ४६, बेन डकेट ३०, फिल साल्टले २० रनको योगदान दिए।

बलिङतर्फ पाकिस्तानका मोहम्मद हस्नेनले १ विकेट लिए। अन्य ब्याट्सम्यान रन आउट भए।

पाकिस्तानी ब्याटिङ फितलो भयो। ओपनरद्वय मोहम्मद रिजवान र बाबर आजम दुवै १ र ४ रन बनाएर आउट भए। शान मसुदले इनिङ्स सम्हाल्दै ५६ रन बनाए। खुश्दिल शाहले २७ रन बनाए। इफ्तिखार अहमदले १९ रन बनाए। अन्य ब्याट्सम्यान खासै चलेनन्।

बलिङतर्फ इङ्ग्ल्याण्डको लागि क्रिस वोक्सले ३ तथा डेविड विलीले २ विकेट लिए। अन्यले १-१ विकेट लिए।

१७ वर्षपछि पाकिस्तानको मैदानमा खेलेको इङ्ग्ल्याण्डले श्रृङ्खला नै कब्जा गरेको हो। यो श्रृङ्खला टी ट्वेन्टी विश्वकपअघि महत्त्वपूर्ण तयारी हुने मानिएको छ।

१७ असोज, २०७९, ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।