‘...यो प्रश्न हरेक विकास विज्ञका लागि बाख्राका मुखमा कुभिन्डो जस्तो हो’

‘...यो प्रश्न हरेक विकास विज्ञका लागि बाख्राका मुखमा कुभिन्डो जस्तो हो’

काठमाडौं : ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तकका लेखक हुन् कृष्ण पौडेल।

डेनमार्कको कोपेनहेगन बस्ने उनले त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट अर्थशास्त्रमा एमए एवं स्वीडेनको लुन्ड युनिर्भसीटीबाट इकोनोमिक हिस्ट्रीमा एमए गरेका छन्। उनै पौडेलसँग इमेल मार्फत उकेराले गरेको कुराकानीः

पछिल्लो समय पढ्नुभएको पुस्तक कुन र कस्तो थियो?
नोभल हरारीको ‘होमो ड्यूज्ः अ ब्रिफ हिस्ट्री अफ टुमरो’ मैले पढेको पछिल्लो पुस्तक हो। त्यसमा विश्व मानव समाजमा हुनसक्ने सम्भावित परिवर्तनहरू सम्बन्धमा चाखलाग्दो ढङ्गले चर्चा गरिएको छ। त्यो समाज विज्ञानमा अभिरुचि राख्ने पाठकहरूको लागि निकै उपयोगी पुस्तक हो जस्तो लाग्छ।

पछिल्लो समय पढ्नुभएको एकदमै उत्कृष्ट किताब कसको र कस्तो थियो?
एकदमै उत्कृष्ट भन्न सक्ने पुस्तक भेटे जस्तो लाग्दैन। पुस्तकको गुणस्तरको अनुभूति पाठकको व्यक्तिगत रुचि र बुझाइको स्तरमा पनि निर्भर हुन्छ। आर्थिक विकास प्रक्रियाको अध्ययनको लागि ‘दोरान एसिम्ग्लु’ र जेम्स रविन्सनको ‘ह्वाइ नेशन्स फेल’ भन्ने पुस्तक उत्कृष्ट लाग्छ।

बेकारमा पढिछु भन्ने कुनै पुस्तक छन्?
नामै दिन त उपयुक्त नहोला। कुनै पनि लेखक प्रकाशकले पाठकलाई बेकार लागोस् भनेर उत्पादन गरेका हुँदैनन्। व्यक्ति अनुसारको पर्सेप्सन फरक हुन्छ नै। पढिसकेको पुस्तक त सायदै बेकार लागेको होला। कति पुस्तक आख्यान नै भए पनि आधाआधीसम्म पुग्न सकिँदैन। बेकार किनेछु जस्तो लाग्ने त निकै छन्। प्राय आधाभन्दा बढी किनेर पढेका पुस्तकप्रति सन्तुष्ट हुन सकेको छैन। चर्चित लेखकहरूकै कृति पनि दिक्क लाग्दो भएको महसुस पनि गरेको छु। सायद रचनालाई परख गर्ने आफ्नै दक्षताको कमी पनि हुनसक्छ।

नपढेको भए ‘मिस’ हुने रहेछ भन्ने कुनै किताब?
मेरो पुस्तक तयार गर्ने सिलसिलाको लगभग अन्तिम क्षणमा नोभल हरारीकै ‘सेपियन्स’ किनेर पढेको थिएँ। पढिसकेपछि मलाई त्यो महशुस भएको थियो। सेपियन्समा मानव इतिहासलाई फरक कोणबाट वर्णन गरिएको छ। त्यसैले पनि त्यो पुस्तक पछिल्लो समय विश्वमा सर्वाधिक चर्चितमध्येमा छ। साथै महाभारत ग्रन्थ सात आठ कक्षामा हुँदा नै पढेको थिएँ। इच्छा भए पनि पछि कहिल्यै दोहो¥याएर पढ्ने मौका परेको छैन, टिभी सिरियलहरू भने पटक–पटक हेरियो । त्यति बेलै नपढेको भए मिस हुने रहेछ भन्ने लाग्छ।

लेखकहरूले कुन विषयमा किताब लेखिदिऊन् जस्तो लाग्छ?
म आफू प्रगतिशील दृष्टिकोणबाट प्रभावित व्यक्ति भएकाले समाजको आवश्यकता बुझेर पुस्तकहरू लेखिऊन् भन्ने लाग्छ। जनजीवन तथा जीविकालाई सहज तुल्याउन योगदान गर्नसक्ने पुस्तक कृतिहरूलाई सार्थक मान्न सकिन्छ। पुस्तक ज्ञान तथा चेतना सम्प्रेषणको माध्यम हो। समयअनुसार बदलिँदै गइरहेका चुनौतीहरूलाई सामना गर्न समाजलाई मानसिक रूपमा तयार पार्ने एवं मार्गदर्शन गर्ने कृतिहरूले ऐतिहासिक महत्त्व राख्दछन्।

तपाईंलाई अर्थतन्त्रको इतिहास लेख्नुपर्छ भन्ने किन लाग्यो?
आर्थिक इतिहास मेरो शैक्षिक अध्ययनको क्षेत्र पनि हो। पुस्तकाकार लेखनको प्रारम्भ आफ्नै विधागत क्षेत्रबाट गर्नु बढि सहज लाग्ने नै भयो। अर्को भनेको नेपाली भाषाको पुस्तक बजारमा यस्तो खालको पुस्तकको अभाव रहेको महसुस भइरहेको थियो। यस्तो अवस्थामा मेरो प्रारम्भिक प्रयासले पनि किन्चित महत्त्व पाउला भन्ने अभिलाषा रह्यो। 
पुस्तक लेख्दाको कठिनाइ र बजारमा गइसकेपछिको प्रतिक्रिया कस्तो पाउनुभयो?
जुन अवस्था र परिस्थिति पुस्तक लेख्ने अठोट गरेँ, मेरो लागि त्यो एक दुस्साहसिक यत्न थियो। लगत्तै कोरानाको कहर सुरु भयो, आफैँ पनि संक्रमित भइयो, गम्भीर विरामी नपरे पनि एक महिना लेख्न पढ्न सकिएन। पुस्तकालयहरूमा पनि भौतिक उपस्थिति लामो समय रोक लागेकोले सन्दर्भ सामग्री खोजी सहज भएन। प्राय अंग्रेजी सामग्री हेरेर नेपालीमा लेख्न खोज्दा शब्द चयन तथा भाषागत प्रस्तुतिमा गाह्रो भयो।

पुस्तक बजारमा रिलिज हुने बखत नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्टको लहर उत्कर्ष थियो, जसकारण विमोचन समारोह गर्न पनि सकिएन। प्रयाप्त पब्लिसिटी हुन पनि पाएन। पुस्तक बजारमा गइ नसक्दै कर्मस्थल फर्कनु परेकोले अपेक्षित मात्रामा प्रतिक्रियाहरू बुझ्न सकेको छैन। बुझेसम्मको सकारात्मक र उत्साहजनक छ। व्यक्तिगत रूपमा परिचित मित्रहरूबाट पुस्तक अपेक्षा भन्दा अधिक राम्रो भएको कम्लिमेन्ट पाएको छु।

इतिहासको कुरा समाउँदै वर्तमान परिप्रेक्ष्यमा आइपुग्नुभएको छ, धेरै आर्थिक विकासका थ्योरी लेखिए, कति त नेपालमा लागू भए होलान्, नेपाल किन विकसित हुन सकेन?
नेपालको सन्दर्भमा जस्तो सुकै विकास विज्ञको लागि यो प्रश्न बाख्राका मुखमा कुभिन्डो जस्तो हो। सम्भवत यसको यथोचित उत्तर पत्ता लागिसकेको छैन। उक्त उत्तरको खोजीमा सहज होस् भनेर नै यो पुस्तक लेख्ने धृष्टता गरेको हुँ।

निश्चय नै नेपालमा अन्यत्र सफल मानिएका आर्थिक नीति तथा मोडेलहरू लागू भए होलान्। ती हाम्रो परिवेशमा कति हदसम्म सान्दर्भिक र उपयुक्त थिए र छन्? ज्वलन्त प्रश्न यहाँनिर पनि छ। कथमकदाचित अतिउत्तम मोडेलहरूको आत्मसात गरिएको रहेछ भने पनि तिनको कार्यान्वयन कत्तिको प्रभावकारी रह्यो? त्यसमा मुख्य परिणाम निर्भर रहन्छ।

अर्थशास्त्रको आधारभूत सिद्धान्त बाहेक नेपालमा भौगोलिक तथा सांस्कृतिक विविधता छ। आफ्नो अनुसन्धान भन्दा पनि दाताले दिएको मोडल लागू गरेकाले विकास नभएको भन्ने चाहिँ कत्तिको लाग्छ?
धेरै हदसम्म लाग्छ । दाताहरूलाई विकासको विधाता मान्ने विवशता रहुन्जेल हामी विकसित हुन सक्दैनौ भन्ने मेरो पनि ठम्याइ छ। हामीकहाँ अध्ययन अनुसन्धानको लागि हुने काम र खर्चलाई फजुल मान्ने संस्कारले जरा गाडेको छ। त्यो काम त दाता र आइएनजीओहरूको हो भन्ने ठानिन्छ। नीति निर्माताहरूमा समेत सतही जानकारीमा दङ्ग पर्ने र अक्कलविना नक्कल गर्न खोज्ने शैलीले सायद हाम्रो मुलुक बौद्धिक रूपमा आत्मनिर्भर हुन सकेको छैन। जसकारण दाताहरूको परामर्श उपर प्रश्न गर्ने ल्याकत दर्बिलो हुन नसकेको यथार्थ हो।

१६ असोज, २०७९, १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।