दशैँमा नक्कली नोटको जोखिम, ३१ हजार सहित समातिए भारतीय नागरिक

दशैँमा नक्कली नोटको जोखिम, ३१ हजार सहित समातिए भारतीय नागरिक

सिराहा : दशैँमा तराइका जिल्लामा नक्कली नेपाली नोट फेला पर्न थालेका छन्। प्रहरीले दशैँ बजारको किनमेलको मौका छोपेर बजारमा नक्कली नोट चलाउन खोज्नेलाई ३१ हजारसहित पक्राउ गरेको हो।

प्रहरीले नरहा गाउँपालिका-४ बाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई पक्राउ गरेको सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोट सहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यस अगाडि पनि पटक-पटक बजारमा नक्कली नेपाली रुपैंया फेला पर्ने गरेको छ। अधिकांश नोटहरू फोटोकपी गरिएका हुने गरेका थिए।

तर पछिल्लो समय नेपाली बजारमा फेला परेका नक्कली नेपाली नोटहरू प्रेसमा छापिएको फेला पर्ने गरेका छन्। पक्राउ परेका आरोपित भारतको भएकाले पछिल्लो समय भारतीय प्रेसमा छापिएर नक्कली नेपाली नोटहरू नेपाली बजारमा छर्ने प्रयास भइरहेको देखिएको छ।

निर्वाचनमा यसको जोखिम थप बढ्ने देखिन्छ। गत निर्वाचनमा समेत मतदातालाई लोभ्याउन बाँडिएका केही नोटहरू नक्कली रहेको खुलेको थियो। तर मुख्य व्यक्ति पक्राउ परेनन्। सशस्त्र प्रहरीको सीमा सुरक्षा बलमा खटिएका विशेष ब्युरोले केन्द्रमा नेपालमा चुनाव लक्षित गरेर नक्कली नेपाली नोटको छपाई भइरहेको विशेष विवरण बुझाएको थियो।

तर नियन्त्रणका लागि अझैँ विशेष रणनीति बनेको देखिँदैन।

यस अगाडि काठमाडौँमै समेत केही नक्कली नेपाली नोटहरू बरामद भएका थिए। तर ती रङिन फोटोकपी मेसिनमा फोटोकपी गरिएको र कम गुणस्तरको कागज प्रयोग गरिएकाले सहजै पहिचान हुन सकेका थिए। तर पछिल्लो समय फेला परेका नक्कली नेपाली नोटहरू भने सक्कली समान रहेकाले जोखिम रहेको देखिन्छ।

१६ असोज, २०७९, १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।