रङ्गशालामा दङ्गा: खेल हार्ने टिमको समर्थक उग्र हुँदा १२७ जनाको मृत्यु, कयौँ घाइते

रङ्गशालामा दङ्गा: खेल हार्ने टिमको समर्थक उग्र हुँदा १२७ जनाको मृत्यु, कयौँ घाइते

एजेन्सी: घटना शनिबार रातिको हो। इण्डोनेशियाको जावास्थित कन्जुरुहान रङ्गशालामा बीआरआई लिग-१ प्रतियोगिता भइरहेको थियो।

अरेमा एफसी र पर्सेबाय सुरबाया टोलीबीच खेल चलिरहेको थियो।

खेल अरेमा एफसीको घरेलु मैदानमा भइरहेको थियो। तर घरेलु मैदानमै खेल ३-२ ले हार्न पुग्यो अरेमा। पराजित टिमका समर्थक उग्र भए। त्यसपछि दुवै टोलीका समर्थक भिड्न थाले।

उनीहरू मैदानमै प्रवेश गर्दा प्रहरीले रोक्न खोज्यो। समर्थकले प्रहरीमाथि विभिन्न सामान फाल्यो। प्रहरीले बदलामा लाठीचार्ज गर्यो। अश्रु ग्याँस प्रहार गर्यो। यसपछि रङ्गशालामा भागदौड मच्चियो।

स्थानीय प्रहरीका अनुसार हालसम्म घटनामा परी १२७ जनाको ज्यान गइसकेको छ। जसमध्ये दुई जना प्रहरी अधिकारी समेत छन्।

घटनामा भागदौड हुँदा रङ्गशालाभित्रै ३४ जनाको ज्यान गएको थियो। बाँकीको मृत्यु अस्पतालमा भएको हो। यस्तै हालसम्म २०० भन्दा बढी व्यक्ति घाइते भएको विवरण सार्वजनिक भएको छ।

अरेमा एफसी र पर्सेबाया दुवै इण्डोनेसियाका चर्चित र लोकप्रिय टिम हुन्।

१६ असोज, २०७९, ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।