‘साइकल प्लाङ्क ब्यालेन्स’ को उपाधि सुशान्त थापालाई, पाए ५० हजार नगद पुरस्कार

‘साइकल प्लाङ्क ब्यालेन्स’ को उपाधि सुशान्त थापालाई, पाए ५० हजार नगद पुरस्कार

बुटवल: कपिलवस्तुमा भएको ‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन्। शनिबार भएको प्रतियोगितामा उनले १२.३७ सेकेण्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्।

पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो। एक सय ५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताए।

प्रतियोगिताको पहिलो चरणमा आठ जनाले दूरी पार गरेका थिए। खेलमा रुपन्देही सैनामैनाका रिजन बञ्जाडे द्वितीय भए। उनले रु २५ हजार प्राप्त गरे भने १५.०७ सेकेन्डको दूरीमा लक्ष्य चुमेका थिए।

कपिलवस्तुका शौरव शर्मा तृतीय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन्। शर्माले रु १५ हजार पाएका छन् भने १६.२८ सकेण्डमा दूरी पार गरेका थिए। घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए।

दोस्रो चरणमा आठ जनाबीच भएको प्रतिस्पर्धामा ६ जनाले दूरी पार गरे पनि दुई जना बीचमै असफल भएका थिए। ६ जनाबीच दूरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको अध्यक्ष थारूले बताए। जिल्लाको वाणगङ्गा नगरपालिका राजापानीको एक पोखरीमा भएको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो।

प्रतियोगितामा आयोजकले सहभागीको रजिष्ट्रेजन शुल्कबापत रु एक हजार पाँच सय तोकेको थियो भने टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको व्यवस्थापन गरेको थियो।

प्रतियोगितामा कपिलवस्तुसँगै रुपन्देहीबाट समेत सहभागीहरू आएको खेल संयोजक विष्णु घिमिरेले जानकारी दिए।

१६ असोज, २०७९, ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।