भीड बढे पनि व्यापार नबढेको पोखराका व्यवसायीको गुनासो, भन्छन्– ‘सामान हेरेर फर्कन्छन् ग्राहक’

भीड बढे पनि व्यापार नबढेको पोखराका व्यवसायीको गुनासो, भन्छन्– ‘सामान हेरेर फर्कन्छन् ग्राहक’

पोखरा : दशैं नजिकिएसँगै मानिसहरू बजार निस्किएका छन्। चहलपहल बढेको छ। शहरमा भिडभाड पनि बढेकै देखिन्छ। पसलहरूमा ग्राहक देखिन्छन् नै।

चहलपहल र भीडभाड बढे पनि व्यापारव्यवसाय नढेको व्यवसायीले गुनासो गरेका छन्। बढ्दो महंगी र आर्थिक तरलताका कारण कारण उपभोक्ताका क्रमयशक्ति खस्कँदा व्यापार घटेको व्यवसायीहरू बताउँछन्।

पोखराको पृथ्वीचोकमा २० वर्षदेखि अर्चना एण्ड फ्रेण्डली कलेक्सन सञ्चालन गर्दै आएका किरण बञ्जारा यस वर्ष दशैंमा पनि सोचेअनुसारको व्यापार नभएको बताउँछन्। बजारमा चहलपहल बढे पनि व्यापार नबढेको उनको भनाइ छ।

‘पसलमा ग्राहक आउनै मुस्किल छ, आए पनि हेरेर मात्र जान्छन्,’ उनले भने।

पछिल्लो समयमा सर्वसाधारको आम्दानीको स्रोत गुमेकाले व्यवसाय चलायमान हुन नसकेको उनी बताउँछन्। विगतका वर्षहरूमा कोरोना संक्रमणका कारण आम्दानीका स्रोत र रोजगारी गुमाएको प्रभाव पनि अहिले परेको हुनसक्ने उनले बताए।

‘महंगीको प्रत्यक्ष मारमा आम उपभोक्ता रहेका छन् भने व्यवसायीको व्यवसाय चौपट भएको छ,’ उनले भने, ‘व्यवसाय ठप्प हुँदा रोजगारीसमेत गुमेको छ, बजार चलायमान हुनलाई आम्दानीका स्रोत नियमित हुनुपर्छ।’ 

बजार भाउ अचाक्ली बढ्दा थोरै कमाइ हुनेको परिवारमा घर खर्च चलाउनसमेत सकस पर्ने अवस्था छ। खर्च गर्ने आर्थिक हैसियत नहुँदा बजार सुस्ताएको उनको अनुभव छ।

पोखरा पृथ्वीचोकस्थित रहेको अन इन्टेक पोखराका सञ्चालक विजय पाठकको पनि अवस्था उस्तै छ। दशैंमा व्यवसायले गति लिने आशमा सरसापट गरेर पसलमा सामान थपे पनि ग्राहक नआउँदा तनावमा छन् उनी।

डेढ दशकदेखि मोबाइल, चस्मालगायत इलेक्ट्रोनिक्सका सामान बेच्दै आएका पाठक पनि मंहगीलाई नै ग्राहकको संख्या घट्नुको मुख्य कारक ठान्छन्।

‘सानो जागिर, व्यवसाय गर्नेले कमाएको पैसाले घर खर्च, बालबच्चाको स्कुलको फि तिर्न नै हम्मे–हम्मे पर्छ,’ उनले भने, ‘घर खर्च चलाउन मुस्किल भएको अवस्थामा कसरी बजारमा सामान किन्नु।’

विगतका वर्षमा व्यस्त हुने पसलमा फाट्टफुट्ट ग्राहक आउने गरेको उनके अनुभव छ। आर्थिक तरलता र महंगीका कारण मानिसको किनमेल गर्ने बानीमा समेत परिवर्तन आएको पाठकको बुझाइ छ।

‘महंगी र आर्थिक तरलताले सबै क्षेत्रलाइ प्रभाव पारेकाले बिलासिताका सामग्रीसँगै आवश्यक सामान किनमेलमा समेत ग्राहकको रुची घटेको देखिन्छ,’ उनले भने, ‘आर्थिक अभावका कारण उपभोक्तामा प्रत्यक्ष प्रभाव देखियो।’

बिलासिता र कपडाको कुरा भइहाल्यो, आजकल त फलफूलका ग्राहकसमेत घटेको पृथ्वीचोकमा फलपूmल व्यवसायी रामप्रसाद पोखरेलले बताउँछन्।

‘बजारमा मानिसको चहलपहल निकै बढेको देखिए पनि ग्राहकले राम्रो किनमेल गरेको देखिँदैन’ उनले भने, ‘हामीलाई भाडा तिर्नसमेत मुस्किल छ।’

कोरोना कालमा खस्किएको व्यवसाय अहिलेसम्म तंग्रिन नसकेको उनको अनुभव छ। मौसम अनुसारका फलफूल पसलमा ल्याएर बेच्न राखे पनि किन्ने पर्याप्ट ग्राहक नआउँदन कुहिएर जाने गरेको गुनासो गरे।

‘मौसम अनुसारका फलफूल मण्डीबाट ल्याएर राख्ने गरेको छु,’ उनले थपे, ‘किन्ने मान्छे नआउँदा धेरैपटक कुहाएर फालेको छु, फलफूल नराख्दा ग्राहक फर्कने चिन्ता, राख्यो, कुहिने पिर।’

पोखरेल ग्राहकको क्रयशक्ति घट्दा फलफूल बजारमा समेत त्यसको प्रभाव देखिएको बताउँछन्। ग्राहकले विचार गरेर खर्च गर्न थालेको उनले बताए।

‘पहिला तीन–चार किलो किन्ने ग्राहकले मुस्किलले दुई किलो किन्छन्,’ उनले भने, ‘फुरमासी ग्राहकहरू समेत अहिले धेरै विचार गरेर सामान किन्न थालेका छन्।’

पृथ्वीचोकमै खाद्यान्नको व्यापार गर्ने प्रमेश अनिसको कुरा भने बेग्लै छ। खाद्यान्नको व्यापार भएकाले आफ्नोमा ग्राहकहरू आएको उनी बताउँछन्। यद्यपि गत वर्षहरूको जस्तो भने नभएको उनले सुनाए।

‘खाद्यान्न पसल भएकाले ग्राहक नआउने भन्ने हुँदैन,’ उनले भने, ‘तर, मानिसहरूले अति आवश्यक वस्तु मात्र किन्न थालेका छन्।’

१५ असोज, २०७९, १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।