महानगरको टोल फ्रिमा गुनासो– ‘खसीको भनेर बाख्राको मासु बेच्यो, कारबाही गरिपाऊँ’

महानगरको टोल फ्रिमा गुनासो– ‘खसीको भनेर बाख्राको मासु बेच्यो, कारबाही गरिपाऊँ’

विराटनगरः खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ।

महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो।

हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गर्नुभएको थियो।

अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो भने बाख्राको मासु पनि खसीको मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो।

विराटगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ। अनुगमन टोलीले बाख्राको मासु जपत गेर तत्कालै नष्ट गरेको थियो।

त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्मले पाँच महिनादेखि डिप फ्रिजमा राखेको माछा गन्हाएको अवस्थामा फेला परेको छ। पसलका कर्मचारीले समेत पाँच महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए।

यस्तै, महानगरले पुरानो गुद्रीमा अनुगमनका क्रममा पुग्दा अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश व्यापारी पसल बन्द गरेर भागेका थिए।

सोही टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायत स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो। खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलका फ्रिजभित्र गन्हाएको मासु फेला परेको थियो।

टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो। टोल फ्रिमा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका प्रमुख कोइरालाले बताए। उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिए।

१५ असोज, २०७९, १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।