पृथ्वीनारायण शाहको इष्टदेवी भैरवी, जसले कान्तिपुरमाथि विजयी प्राप्त गर्दा शक्ति दिइन्

पृथ्वीनारायण शाहको इष्टदेवी भैरवी, जसले कान्तिपुरमाथि विजयी प्राप्त गर्दा शक्ति दिइन्
तस्बिर : रामहरि न्याैपाने

आज असोज शुक्ल पष्ठी तिथी अर्थात दशैंको छैटौं दिन।

नेपाली परम्पराअनुसार घटस्थापनादेखि महानवमीसम्म नौ दिन नवदुर्गाको पूजा अराधना गरिने परम्परा छ। दशौं दिन विजयादशमीमा देवी विसर्जन गरिने परम्परा रहेको छ।

घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी भगवती, तेस्रो दिन चन्द्रघण्टाको पूजा गरियो। चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरियो भने आज कात्यायनी देवीको पूजा गरिँदैछ।

धार्मिक विश्वासअनुसार यदी घरमा कोही अविवाहित छन् र विवाहमा बाधा अवरोध सृजना भएको छ भने मह चढाएर कात्यायनीको पूजा अराधना गरेमा कार्यसिद्धि हुनेछ। कात्यायनी माताको पूजा अराधनाले मनले चाहेको व्यक्ति प्राप्त हुने विश्वास छ।

यस्तै आकर्षण र सुन्दरताका लागि पनि कात्यायनीको पूजा अराधना गरिन्छ। कात्यायनी माताको आफ्नै कथा छ। परापूर्वकालमा ‘कत’ नाम गरेका ऋषिका ‘कात्य’ नाम गरेका पुत्र थिए। तिनै कात्यको गोत्रमा ऋषि कात्यायन जन्मिए। कात्यायनले पनि तपस्या गरे र पुत्रीलाई जन्म दिए। उनी नै पछि ‘कात्यायनी देवी’का नामले प्रसिद्ध भइन्।

यो थियो नवदुर्गामध्येकी छैटौं देवीको चर्चा। अब लागौं आजको शक्तिपीठको दर्शन गर्न। आज हामी तपाईंहरूलाई भैरवीको दर्शन गराउँछौं।

राजा दक्ष प्रजापतिले छोरी सतिदेवी र ज्वाइँ महादेवलाई महायज्ञमा बोलाएनन्। आफ्नो बाबुले बिर्सेर नबोलाएका होलान् भन्ने सोचेर सतिदेवी यज्ञमा सहभागी हुन गइनन्।

तर, दक्षप्रजापतिले छोरी सतिदेवी र ज्वाइँ महादेवको निकै अपमान गरे। आफ्नो श्रीमान्को अपमान सहन नसकेर सतिदेवी त्यही यज्ञमा हाम फालिन्। र प्राण त्याग गरिन्।

यता महादेव सतिदेवीको मृत शरीर बोकेर भौंतारिन थाले। उनी पागल जस्तै भए। देवलोकमा महादेवको यो हालतबारे ठूलै हल्लाखल्ला मच्चियो। देवताहरू महादेवलाई यो अवस्थाबाट निकालेरै छाड्ने भन्दै योजना बनाउन लागे।

उनीहरूले त्यसपछि माखाको उत्पत्ति गराए र सतिदेवीको शरीरमा पठाए।

माखाले बिस्तारै सतिदेवीको शरीर सडाउन थाल्यो। यता महादेव सतिदेवीको शरीर बोकेर हिँड्दा हिँड्दै काठमाडौंको गोकर्णमा पुग्दा सतिदेवीको देब्रे कान पतन भएछ। त्यही स्थानलाई भैरवीदेवीको स्थान भनिएको हो। 

भैरवीको मन्दिरको इतिहास शाहवंशीय राजाहरूबाट सुरु हुन्छ।

ठोस प्रमाण नभए पनि नुवाकोट विजय गर्नुपूर्व राजा पृथ्वीनारायण शाहले भैरवीसँग शक्ति मागेका थिए। भैरवीले नै उनलाई कान्तिपुर विजय गर्ने शक्ति प्रदान गरेको पनि जनविश्वास रहेको छ।

नुवाकोटमा पृथ्वीनारायण शाहले भैरवीको मन्दिर पनि निर्माण गरेका थिए। भैरवीलाई पृथ्वीनारायण शाहको इष्टदेवीका रूपमा मानिने चलन पनि छ।

त्यसो त, नेपाल संवत् ५६१ को अभिलेखमा भने भैरवी धेरैअघि नै स्थापना भएको प्रमाण भेटिन्छ।

भैरवीको पूजा बडादशैं र चैतेदशैंमा धुमधामको साथ हुने गर्दछ। भैरवीलाई बोका, राँगा, सुँगुर गरी सबै देविदेवता सम्झेर १८ वटा बलि दिनुपर्ने विधान छ। 

भैरवी शक्तिको प्रतीक भएकीले पनि दशैंमा यिनको उपासना गर्ने चलन चलेको हो।

बडादशैंको अवसर पारेर यो मन्दिरमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ। भैरवीको पूजा अराधना गरे शक्ति प्राप्त हुने जनविश्वास चलिआएको छ।

१५ असोज, २०७९, ०७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।