हत्याको कार्यविधि सङ्गठित, पक्राउ परेका आरोपित 'भुराभुरी'

हत्याको कार्यविधि सङ्गठित, पक्राउ परेका आरोपित 'भुराभुरी'

काठमाडौं :  १० दिन अगाडि काठमाडौंको गोठाटारमा साँझ गोली हानेर मारिएका लाल मोहम्मद भनिने मोहम्मद दर्जीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षदेखि २१ वर्षसम्मका तीन जनालाई सार्वजनिक गर्यो।

काठमाडौं जिल्ला परिसरले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका तीनमध्ये २ जना युवक र एक जना युवती छन्। दुई युवकलाई प्रहरीले शुक्रबारै वीरगन्जमा पक्राउ गरेर ल्याएको हो भने युवती काठमाडौंको कपनमा बस्दै आएकी थिइन्।

प्रहरीको दाबीअनुसार पक्राउ परेकाहरू हत्याको योजनाकार, हतियार व्यवस्थापक अनि लाल मोहम्मदको निगरानी गर्ने भूमिकामा संलग्न देखिएका छन्।

पर्साका २१ वर्षीय मोहरम मियाँ हत्याको योजनाकार र हतियार व्यवस्थापक, १९ वर्षका रेहान मियाँ हतियारको व्यवस्थापक अनि २१ वर्षकी स्वस्तिका स्याङतान मोहम्मदको निगरानीमा परिचालित भएको काठमाडौंका एसएसपी भरत बोहोराले दाबी गरे।

पक्राउ परेकामध्ये स्याङतान लागुऔषध कारोबारमा समेत संलग्न देखिएकी छिन्। उनी यस अगाडि पक्राउ परेर जेल समेत पुगिसकेकी हुन्। अन्तर्देशीय अपराध देखिएको घटनामा योजनाकार भनेर सार्वजनिक गरिएका अन्य २ जनाको कुनै आपराधिक पृष्ठभूमि सार्वजनिक गरेन प्रहरीले।

वीरगन्जबाट हतियार लिएर काठमाडौं आएका मोहरमको भूमिका यति नै देखिएको छ। अनुसन्धान स्रोतका अनुसार ह्वाट्सएपबाट आएको निर्देशनअनुसार उनले ४० हजार पाउने लोभमा पेस्तोल बोकेर सार्वजनिक गाडीमा काठमाडौं आए अनि माछापोखरीमा एक व्यक्तिलाई हतियार दिएर उनी त्यही दिन वीरगन्ज फर्किए।

अर्को युवतीले मोहम्मदको दैनिक गतिविधिको निगरानी गरेर जानकारी दिने देखिएको छ। तेस्रो व्यक्तिलाई प्रहरीले हतियार व्यवस्थापक भएको दाबी गरेको छ।

१० दिनसम्म भएको अनुसन्धानको उपलब्धिमा हत्याको कारण समेत खुलाउन सकेन प्रहरीले। आरोपीहरू बल्ल पक्राउ परेकाले अब यसबारे अनुसन्धान हुने उनीहरूको दाबी थियो। यस अगाडि नै घटनामा नीतिन मोहन नामक भारतीय नागरिक समेत संलग्न रहेको खुलेको थियो।

तर, पत्रकार सम्मेलनमा उनीबारे केही जानकारी दिएन प्रहरीले। घटनामा को-को संलग्न थिए अनि सुटर को हो भन्ने समेत प्रहरीले खुलाएन। यसले प्रहरीले जे आरोप लगाएर तीन आरोपित सार्वजनिक गरे पनि पक्राउ परेका तीनै जना यो घटनाका सामान्य सहयोगी रहेको देखिन्छ।

यस अगाडिका यस्तै प्रकृतिका आपराधिक घटनामा पनि सामान्य सहयोगी मात्रै पक्राउ पर्ने गरेका थिए। मिर्जा दिलसाद बेग, जमिम शाह, फैजान अहमदको हत्या अनुसन्धानमा सामान्य सहयोगी मात्रै पक्राउ परे पनि प्रहरीले घटनामा संलग्न भारतीय अपराधीहरूको पहिचान भने सार्वजनिक गर्न सकेको थियो। तर शुक्रवार प्रहरीले त्यतिसम्म पनि जानकारी दिन सकेन।

लाल मोहम्मदको अनुसन्धानको उपलब्धि पनि नेपालमा रहेका घटनासँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिएका सहयोगी पक्राउमै गएर टुङ्गिने सम्भावना बढी देखिन्छ।

१४ असोज, २०७९, १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।