फिल्मको नाम चैँ 'के घर के डेरा' तर विपिनको छवि उही 'पशुपति प्रसाद'कै भस्मे डन !

फिल्मको नाम चैँ 'के घर के डेरा' तर विपिनको छवि उही 'पशुपति प्रसाद'कै भस्मे डन !

काठमाडौँ : भर्सटायल अभिनेताको सूचीमा पर्ने कलाकार हुन् विपिन कार्की। तर दर्शकमाझ भने उनको भस्मे डनको छवि मज्जाले गढेको छ। दर्शकमाझ मात्रै हैन उनको अभिनय कलामा पनि त्यही क्यारेक्टरको ह्याङ कतै न कतै देखिहालिन्छ।

फिल्म 'के घर के डेराको' ट्रेलरमा पनि उनको त्यही भस्मे फ्लेवर हाबी भएको देखियो। कार्तिक ४ मा रिलिज डेट राखेको फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका छन्। विपिनसँगै दयाहाङ राई अनि वर्षा राउत र सुरक्षा पन्त हाबी छन् ट्रेलरमा।

पछिल्लो समय विपिन भारतीय फिल्ममा अनुबन्ध भएकाले चर्चामा आए भने' प्रसाद-२' को विवादमा तानिए। उनले आफ्ना अन्तर्वार्ताहरूमा भस्मे डनको क्यारेक्टर अब नदोहोर्याउने दाबी गरेका छन्।

तर यो फिल्मको ट्रेलरमा स्वर बदल्ने बाहेक अन्य छविमा भने उनी पुरानै क्यारेक्टर हाबी देखिन्छ।

रवीन्द्र झा, अशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको फिल्ममा राईले डेरावालको भूमिका निर्वाह गरेका छन् भने विपिनको क्यारेक्टर डन गिरीको देखिन्छ।

महेश दवाडीको कथा रहेको फिल्मको ट्रेलर भने रमाइलो छ। सिंगे लामाको कथामा बनेको फिल्ममा दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन रहेको छ। फिल्म शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन मिलेर बनाएका हुन्। फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन्।

१४ असोज, २०७९, १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।