दशैंमा पुस्तक बजार सुुस्त तर टेबल मुनिबाट बेचिँदैछ ‘इजोरिया’

दशैंमा पुस्तक बजार सुुस्त तर टेबल मुनिबाट बेचिँदैछ ‘इजोरिया’

काठमाडौं : दशैंको छेको पारेर प्रकाशक फाइन प्रिन्टले लेखक सुविन भट्टराईको ‘इजोरिया’ पुस्तक प्रकाशित गर्यो। भट्टराईको छैटौं पुस्तक ‘इजोरिया’को क्रेज लोभलाग्दो देखियो युवा पाठकमाझ।

लेखकबाट पुस्तक नबिकेको गुनासो आउनुको साटो इजोरियाको हकमा भने बजारमा किताब अभाव भएको भन्दै पाठकहरूले गुनासो गरेको सुनियो। केही दिनअघि जमलको एजुकेशन हाउस पुग्दा ३ सय ६० प्रति इजोरिया बिक्री गरेको बताउँदै थिए कर्मचारी रमण राउत।

‘कोभिडले गर्दा किताबको बजार राम्रो छैन। तर, इजोरिया हामीले एक हप्तामा नै ३ सय ६० प्रति बिक्री गर्यौं,’ उनले भने, ‘यो किताब बजारमा अहिले पाउनै मुस्किल छ।’

उकेराकर्मी एजकुशन बुक हाउसमा पुस्तक किन्न आउनेकै माहोल हेरिरहेको बेला एक युवती सरासर भित्र आइन्। अन्यत्र किताब समेत नहेरी सिधै उनले ‘इजोरिया छ?’ भनेर सोधिन्। 

पसलका कर्मचारी राउतले बजारमा पाउन मुस्किल भएको भनिएको इजोरिया किताब टेबल मुन्तिरबाट झिकेर दिए। मूल्य ६ सय ४८ रूपैयाँ।

उकेराकर्मीले तपाईंलाई सुविन भट्टराई मनपर्छ हो भनेर सोध्दा उनले एकै श्वासमा भनिन्, ‘पुतलीसडक र बागबजार पूरै चहारे, कतै किताब नभेटेपछि यहाँ आएँ, बल्ल भेटियो।’ 

पुरानो बसपार्कस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको पछाडिपट्टि ज्ञानज्योती पुस्तक पसल पुग्दा पनि अवस्था हेर्न लायक थियो। केही ग्राहक आउँथे इजोरिया छ भनेर सोध्थे। पसलका सञ्चालक एवं शिखा बुक्स प्रकाशनका प्रमुख पुष्प पौडेलले टेबुल मुन्तिरबाट निकालेर दिन्थे।

‘यो किताब सर्टेज भएर बाहिर देखाएर राखिएको छैन,’ पौडेलले भने, ‘इजोरियाको बजार राम्रो गएको छ, पुस्तक अभाव भएको छ, मागअनुसार दिन सकिएको छैन।’

डिल्लीबजार स्थित हिमालयन बुक्स हाउसका प्रमुख अनिल हिमाल गौतम पनि तुलानात्मक रूपमा इजोरिया धेरै बिक्री भएको बताउँछन्।

‘युवाहरूमाझ लोकप्रिय भएर पनि होला भट्टराईको किताब धेरै बिक्री भएको छ,’ उनले भने, ‘यहि रफ्तारमा अन्य किताबको बिक्री भइदिए पुस्तकको बजार फर्किने थियो।’

दसैँ बजार ताकेर आए नयाँ पुस्तक, तर तातेन बजार

दसैँ केन्द्रीत गरेर प्रकाशकहरुले धमाधम नयाँ पुस्तक प्रकाशित गरे पनि बजारको रौनक भने फर्किएको देखिएन। 'इजोरिया' को बजारलाई अपवाद मान्दा हुन्छ दसैँमा पुस्तक बजारको अवस्था हेर्दा।
बुकहिलका प्रकाशक भुपेन्द्र खड्का दशैंअघि पुस्तकको लागि सिजन रहेको बताउँछन्। तर बजारको मुड भने अफ सिजन देखियो।

‘दशैंअघि पुस्तक बिक्री हुने सिजन हो। तीनवटा नयाँ र अन्य पूरानाको पुनः मुद्रण गरेका छौं,’ उनले भने, ‘अहिलेसम्मको बजार हेर्दा सन्तुष्ट हुने आधार भेटिन्छ।’

शिखा बुक्सका प्रमुख पुष्पराज पौडेल दशैं अघि पुस्तकहरू धमाधम निस्कने र बिक्री पनि राम्रो हुने बताउँछन्। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका उनी जीवनयापन सम्बन्धी, उपन्यास तथा जीवनीको बिक्री बढेको बताउँछन्।

‘अहिले जीवनशैली, उपन्यास र जीवनी सम्बन्धी पुस्तकहरू बिक्री भएको देखिन्छ,’ उनले भने, ‘कोरोनाअघिको दशैंमा जस्तो बिक्री त भएको छैन तर सुरुवात राम्रो भएका कारण पुस्तकहरू बिक्छन् भन्ने आशा छ।’
पौडेलले पनि दशैंलाई छेको पारेर खानपान सम्बन्धी साथै अन्य पुस्तकहरू प्रकाशन गरेका छन्।

पाँचपोखरी प्रकाशनका प्रमुख राम श्रेष्ठ भने कोरोनाअघि जस्तो पुस्तक बजारलाई दशैं नलागेको बताउँछन्।

‘मैले जम्मा एउटा पुस्तक प्रकाशन गरेँ। दशैंलाई भनेर पुस्तक त निकालिन, अहिले पहिले जस्तो किताब बिक्री भएका छैनन्,’ उनले भने, ‘नेपाली भन्दा अंग्रेजी पुस्तक धेरै बिक्री भइरहेका छन्।’

मण्डला बुक पोइन्टले अंग्रेजी किताबहरू बढि बिक्री गर्ने गर्छ। कुटनीति सम्बन्धी, भूराजनीति सम्बन्धी र कुलचन्द्र गौतमको पुस्तक बिक्री भइरहेको मण्डलाका कर्मचारी सिद्धार्थ महर्जन बताउँछन्।

‘हामीले अन्तराष्ट्रिय किताबहरू बिक्री गर्छौं, दशैंलाई भनेर पुस्तक बिक्री बढेको छैन,’ उनले भने, ‘सबै सामान किनेपछि अन्तिम प्राथामिकतामा पर्छ पुस्तक, त्यही भएर पनि होला पुस्तक बजारलाई दशैं लागेको छैन।’

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका पुर्वअध्यक्ष लिखत पाण्डे पढ्ने संस्कृति नै हराएको बताउँछन्। पत्रकार, वकिल, प्राध्यापक तथा अन्य प्रोफेसनमा लागेकाहरूले पनि पुस्तक खोज्दै आउने संस्कृति हटेको उनको भनाइ छ।

‘पहिले–पहिले निश्चित पेशा अंगाल्नेले पढेको जस्तो लाग्थ्यो, अहिले त्यो पनि छैन,’ उनले भने, ‘भूकम्प–कोरोनाले गर्दा आर्थिक स्थिति खस्केको र युवा जति विदेशमा गएका कारण पनि उलेख्य पाठक छैनन्।’
अनलाइन मार्फत पुस्तक बिक्री गर्दै आइरहेका थुप्रै डटकमका सह–संस्थापक दिपेश आचार्य भने पुस्तक बजार बढेको बताउँछन्।

‘अघिपछि भन्दा हामीले अहिले अलि धेरै पुस्तक बिक्री गरिरहेका छौं,’ उनले भने, ‘माग भए अनुसार कुनै–कुनै उपन्यास त पुर्याउन सकेका छैनौं, किताबको बजारलाई सन्तोषजनक नै मान्नुपर्ने हुन्छ।’

धेरै भारतबाटै आयत

नेपालले पुस्तक तथा स्टेशनरीका सामानहरू समेत ठूलो मात्रामा आयात गर्छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८-०७९ मा ३ अर्ब ३५ करोड ४६ लाख ६० हजार रूपैयाँ बराबरको पुस्तक तथा स्टेशनरी सामानको आयात भएको देखिन्छ।

नेपालले भारत, चीन, हङकङ, युएई, अमेरिका, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, टर्की, भियतनाम, स्पेन, बेलायत, जर्मनी, फ्रान्स आदि देशहरूबाट पुस्तक लगायतका स्टेशनरी सामान आयात गर्ने गरेको छ। चालु आर्थिक वर्षको भदौसम्म ६४ करोड २१ लाख ५४ हजार बराबरको स्टेशनरीका सामान आयात भएको छ।

नेपालमै प्रकाशन हुने पुस्तकको बजारबारे अहिलेसम्म सर्वेक्षण भएको छैन। सर्वेक्षणको काम भने सुरु गरेको नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मीले बताए। औषतमा ५० देखि ७५ प्रतिशत नेपाली मुद्रण उद्योगले नेपाली बजार धान्ने गरेको उनको भनाइ छ।

‘स्टेशनरीको सामान, विज्ञान र कोर्सबाहिरका किताब आउने नै भए,’ उनले भने, ‘हामी सबल छौं, नेपाली उद्योगलाई सरकार र प्रकाशकले विश्वास गर्दैनन्, अहिलेको बजार ५० प्रतिशत धानेका छौं।’

१४ असोज, २०७९, १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।