भर्नुपर्दैन फूलट्याङ्की तेल, दशैं बिदामा पनि पेट्रोल पम्प र डिपोहरू खुल्ने

भर्नुपर्दैन फूलट्याङ्की तेल, दशैं बिदामा पनि पेट्रोल पम्प र डिपोहरू खुल्ने

काठमाडौंः दशैं बिदाको समयमा पनि पेट्रोल पम्पहरू खुला रहने भएको छ।

निगमले एक सूचना प्रकाशित गरी दशैंका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैंको बिदामा देशभर रहेका १३डिपोसहित पेट्रोल पम्पहरू खुला रहने जनाएको हो।

दशैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरू खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए।

उनका अनुसार प्रदेश १ को विराटनगर र मधेश प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुनेछ भने बागमती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन्।

यसैगरी, लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन्।

यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने निगमले जनाएको छ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरू २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरू विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ।

निगमका अनुसार हाल दैनिक रूपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ।

१४ असोज, २०७९, १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।