लाल मोहम्मद हत्याका तीन आरोपी सहयोगी मात्र

लाल मोहम्मद हत्याका तीन आरोपी सहयोगी मात्र

काठमाडौँ :  लाल मोहम्मदको हत्या भएको १० औँ दिन प्रहरीले तीन जनालाई पक्राउ गर्यो। तर पक्राउ परेका तीनै जना न योजनाकार हुन् न सुटर।

प्रहरीले काठमाडौँ बाहिर पक्राउ गरेको तीनै जना घटनाका सहयोगी मात्र हुन्। प्रहरी स्रोतका अनुसार पक्राउ परेका २ जना हतियार व्यवस्थापनमा संलग्न देखिएका छन्। एक महिला मोहम्मदको निगरानीमा संलग्न देखिएकी छिन्।

असोज ४ गते काठमाडौँको गोठाटारमा साँझतिर गोली हानेर मोहम्मदको हत्या भएको थियो। तर प्रहरीले अहिलेसम्म घटनाका सुटरको पहिचान समेत गर्न सकेको छैन।

मोहम्मदको घर नजिकैको गेस्ट हाउसमा बसेर योजना बनाएको र तत्काल घटनास्थलमा तीन जना देखिएका थिए।

पक्राउ परेकी महिला घटना अगाडि घटनास्थल वरपर देखिएकी थिइन्। अन्य २ जना भने घटनाका सुटरलाई हतियार दिन संलग्न देखिएको स्रोतको दाबी छ।

हत्यामा संलग्नमध्ये एक नीतिन मोहन गेस्ट हाउसको सिसिटिभीबाट पहिचान भएका थिए।  भारतीय नागरिक रहेका उनी लामो समयदेखि नेपालमा बस्दै आएका थिए।

न्युरोड क्षेत्रमा बस्ने उनी घटनाको दिनदेखि फरार छन्। तर प्रहरीले फेला पार्न सकेको छैन।

जाली भारतीय रुपैयाँको कारोबारमा जोडिएका मोहम्मदको हत्या यस अगाडिका अन्तरदेशिय अपराधसँग जोडिएको देखिन्छ। अनुसन्धान स्रोत सुटर र नितिन भारत पुगिसकेको बताउँछ।

मोहम्मद यस अगाडि बलराम पटुवाको हत्यामा दोषी ठहर भएर नौ वर्ष जेल बसेर रिहा भएका थिए। गोठाटारमा उनी गार्मेन्ट चलाएर बस्थे।

प्रहरीले तीन सहयोगीसहित अनुसन्धान विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

जमिम शाहको हत्या होस् या फैजान अहमदको, अन्तरदेशिय अपराध जोडिएका हत्या घटनामा प्रहरीको अधिकतम सफलता सहयोगी नेपाली नागरिक पक्राउ गर्नेमै सीमित देखिन्छ।

जमिम हत्यामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका पूर्व डिएसपी जगदीश चन्द सहितका नेपाली पक्राउ परेका थिए। फैजान हत्यामा त सामान्य ट्याक्सी चालक समातिए जसको संलग्नता गोली हानिएको पेस्तोल लुकाउने मात्र देखिएको थियो।

लाल मोहम्मदको हत्या अनुसन्धान पनि करिब उस्तै उपलब्धिमा टुङ्गिने सम्भावना बढी देखिन्छ।

१४ असोज, २०७९, १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।