'पीएस १' र 'विक्रम वेधा' जस्ता बहुप्रतीक्षित फिल्मसँग 'बाबरी'को प्रतिस्पर्धा

'पीएस १' र 'विक्रम वेधा' जस्ता बहुप्रतीक्षित फिल्मसँग 'बाबरी'को प्रतिस्पर्धा

काठमाडौं: नेपाली फिल्म 'बाबरी' आजबाट प्रदर्शनमा आएको छ। तर बाबरीलाई चुनौती दिन दुई वटा भारतीय फिल्महरू तैनाथ छन्।

आजैबाट बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म 'पीएस १' पनि प्रदर्शनमा आएको छ। यस्तै बलिउड फिल्म 'विक्रम वेधा' पनि आजैको मितिबाट सिनेमाघरहरूमा प्रदर्शनमा आएको छ।

पहिला बाबरीको कुरा। बाबरीका निर्देशक हुन् सुरेन्द्र पौडेल। यसका मुख्य कलाकार हुन् धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर। पुराना नेपाली फिल्मकी चर्चित हिरोइन तृप्ति नाडकरका छोरा हुन्- धिरज नाडकर। यो उनको डेब्यु फिल्म पनि हो।

रोमान्टिक र त्रिकोणात्मक प्रेम कथामा आधारित बाबरीलाई 'प्रेमगीत ३'को पनि चुनौती रहनेछ। फिल्म २ घण्टा १६ मिनेट लामो छ। यद्यपि त्रिकोणात्मक लभ स्टोरी फिल्म रुचाउनेलाई यो राम्रो खुराक हुनसक्छ।

यता पीएस १ भने दिग्गज निर्देशक मणि रत्नमले बनाएका हुन्। दक्षिण भारतीय फिल्मका फ्यानहरू त्यसमा पनि मणि रत्नमको सिनेमा शिल्पको फ्यानलाई यो त चाडपर्वको उपहारै जस्तो भएको छ।

त्यसमाथि ठूलो क्यानभास अनि पिरियोडिक ड्रामा। यो विधाको फिल्म त्यसै पनि अहिले सबैभन्दा बढी हेरिने फिल्महरूमा पर्छ।

चोला साम्राज्यको कथा भन्ने यस फिल्ममा चर्चित कलाकार विक्रम, कार्थी, जयराम रवि, ऐश्वर्या राय, तृषा कृष्णान् लगायतको अभिनय छ। फिल्म २ घण्टा ५० मिनेट लामो छ।

यस्तै गिर्दो बलिउडको साख जोगाउने भनिएको विक्रम वेधा पनि आजैबाट रिलिज हुँदैछ। यो फिल्म हुन त यही नामको दक्षिण भारतीय फिल्मको आधिकारिक कपी हो। तर ऋतिक रोशनको भिलेन अवतार र पछिल्लो समय रुचाइएको सैफ अली खानको पुलिस अवतार हेर्न चाहनेलाई यो राम्रो खुराक हो।

फिल्मका निर्देशक गायत्री, पुष्कर हुन्। फिल्म २ घण्टा ३९ मिनेट लामो छ।

१४ असोज, २०७९, १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।