अष्ट्रेलियन कम्पनीबाट लिजमा ल्याएको यतीको नयाँ विमानले आज काठमाडौं-विराटनगर पहिलो उडान गर्‍यो

अष्ट्रेलियन कम्पनीबाट लिजमा ल्याएको यतीको नयाँ विमानले आज काठमाडौं-विराटनगर पहिलो उडान गर्‍यो

काठमाडौं: यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ। गत भदौ २० गते छैटौँ एटीआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो।

नयाँ थपिएको विमानले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भरेको हो।

एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाका अनुसार सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ। सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो।

एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा आठ हजार दुई सय ७३ साइकल र १० हजार दुई सय ९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिए।

एटीआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो। कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२–६०० सिरिजका विमानहरूको उत्पादन सुरु गरेको हो।

नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो। विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ। एटीआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ। एक उडानलाई एक साइकल गणना गरिन्छ।

“नेपालीको महान् पर्व वडादशैंको शुभसाइत पारेर हामीले उडान सुरु गरेका छौँ, यसले दशैंको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, प्रवक्ता बर्तौलाले भने।

१४ असोज, २०७९, ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।