पार्टीको भागमा १६ सिट पर्ने भएपछि रिसाए माधव नेपाल

पार्टीको भागमा १६ सिट पर्ने भएपछि रिसाए माधव नेपाल

काठमाडौँ : पाँच दलीय गठबन्धनबाट पार्टीको भागमा १६ सिट आउने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिचैमा उठेर बैठकबाट बाहिरिए।

घटना बिहीबारको हो। बैठकस्रोतका अनुसार पाँच दलबिच आगामी निर्वाचनमा सिट बाँड्न बिहीबार शीर्ष तहको बैठक बसेको थियो।

बैठकमा नेपाली कांग्रेसको भागमा ८४ सिट, माओवादी केन्द्रको भागमा ४४ सिट पर्ने सहमति भयो।

सिट भाग लगाउँदै जाँदा एकीकृत समाजवादीलाई १६ सिट पर्ने भयो। अनि  समाजवादीका अध्यक्ष नेपाल बैठकको बिचमै उठेर हिँडे। नेपालले आफ्नो पार्टीलाई ३० सिट चाहिने दाबी गर्दै आएका छन्।

उता जनता समाजवादीले पनि सिट सङ्ख्यामा चित्त बुझाएको छैन। उसको भागमा बढीमा १४ पर्ने देखिन्छ। जनमोर्चाको भागमा दुई।

प्रतिनिधि सभाको सिटबारे गठबन्धनका नेता लगभग सहमति निकट पुगेको देखिन्छ। शुक्रवार सबै फाइनल हुने एक नेताले दाबी गरेका छन्। ती नेताका अनुसार अब सप्तरी, पर्सा र कास्कीका सिटमा मात्र सहमति हुन बाँकी छ।

१४ असोज, २०७९, १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।