टिपरको राज हुने अरनिको र बीपी राजमार्गमा दशैंभर चलाउन निषेध

टिपरको राज हुने अरनिको र बीपी राजमार्गमा दशैंभर चलाउन निषेध

काठमाडौं: दशैंमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाका दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ। कार्यालयले अरनिको र बीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो। 

यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक सवारी साधनका लागि टाइम कार्ड लागू गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। उनका अनुसार केन्द्रीय राजधानी काठमाडौंबाट दशैं मनाउन काभ्रेको रूट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने आउने यात्रुहरूको चापलाई व्यवस्थापन गर्न उक्त निर्णय गरिएको हो।

दुई राजमार्गमा दैनिक दुई हजार पाँच सय टिपरले निर्माण सामग्री ढुवानी गर्दै आएका छन्।

यस्तै प्रशासन कार्यालयका अनुसार टाइम कार्ड लागू गरिएका रूटमा बीपी राजमार्गअन्तर्गत मङ्गलटार–भकुण्डे १८ किमी दूरीका लागि ४० मिनेट, भकुण्डेबेंसी–काभ्रेभञ्ज्याङ १३ किमी दूरीका लागि ३५ मिनेट, तथा अरनिको राजमार्गको धुलिखेल–पाँचखाल १५ किमीका लागि ३० मिनेट, पाँचखाल–दोलालघाटका लागि १० किमी दूरीमा २० मिनेट समय निर्धारण गरिएको छ।

अरनिको राजमार्गभन्दा बीपी राजमार्गमा फूलपाती, अष्टमी र नवमीका दिन धेरै सवारीको चाप हुने गरेको छ। यसपालि दुवै राजमार्गमा सवारी चाप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन र यातायात व्यवसायीले सहजरूपमा यात्रुलाई आउनेजाने वातावरण मिलाउन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार छलफल गरेका हुन्।

१४ असोज, २०७९, ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।