अत्यधिक वर्षाले दिक्तेलमा तीन तले घर ढल्यो

अत्यधिक वर्षाले दिक्तेलमा तीन तले घर ढल्यो

काठमाडौं: अत्यधिक वर्षाका कारण खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ। गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीन तले घर भत्किएको हो।

घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ। वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ। सोही ठाउँका नारायण राईको घरमा भल-पानी पस्दा बस्न नमिल्ने भएको छ।

वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए। पहिरोले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रा समेत मरेका छन्। “पीडित राहतका लागि फोन गर्न थालेका छन्”, उनले भने।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जिल्लामा मानवीय क्षति नभएको जानकारी दिए। वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन्। दशैं, तिहार र छठ मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी पैदलयात्रा गर्न बाध्य छन्।

१४ असोज, २०७९, ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।