दशैंको पाँचौँ दिन: स्कन्दमाताको पूजा आराधना गरिँदै

दशैंको पाँचौँ दिन: स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं: आज आश्विन शुक्ल पञ्चमी अर्थात् दशैंको पाँचौँ दिन हो। आज स्कन्दमाताको पूजा आराधना गरिँदै छ।

यसअघि घटस्थापनादेखि महानवमीको नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरिने परम्पराअनुसार पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी भगवती र तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिएको थियो। यस्तै चौथो दिन कुष्माण्डाको पूजा आराधना गरिएको थियो।

नवरात्रको पाँचौँ दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

पौराणिक ग्रन्थअनुसार कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे। ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्। यो पार्वतीलाई मन परेन।

पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन्। ऋषि ऊँट बने। शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनीमा पनि आफ्नो ब्रह्मस्वरूप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन्।

पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनी प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरू चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु र मलाई यस योनीमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन्।

ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन्, ‘ऋषिजी तपाईं ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्त्व नबुझी मैले दिएको श्रापबाट मलाइ ठूलो पश्चात्ताप छ, अब म तपाईंलाई पुत्रका रूपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ।

स्कन्दको अर्थ सनतकुमार हो। स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ।

छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनतकुमारको नाम स्कन्द रहन गएको हो। स्कन्दको माता भएकाले पार्वतीलाई नै स्कन्दमाताका नामले कहलाएकी हुन्।

१४ असोज, २०७९, ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।