चाडपर्वको नाममा फुटपाथ व्यवसायीमाथि लचिलो नहुने मेयर बालेनको घोषणा

चाडपर्वको नाममा फुटपाथ व्यवसायीमाथि लचिलो नहुने मेयर बालेनको घोषणा

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चाडपर्वका नाममा फुटपाथमा व्यवसाय गर्नेहरूमाथि लचिलो नहुने बताएका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै मेयर बालेनले फुटपाथ व्यापारलाई दशैंको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै यस कार्यमा महानगर लचिलो नहुने स्पष्ट पारेका छन्।

'यो कार्यक्रम (फुटपाथबाट पसल हटाउने) पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ। अन्त्यमा, शहरी सुशासन र शहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरूलाई निरन्तरता दिने कुरा दोहोर्याउन चाहन्छौँ', उनले भने।

विज्ञप्तिमा मेयर बालेनले फुटपाथमा पैदलयात्रीको पहिलो अधिकार रहने बताएका छन्। यस्तै आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ। फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको पनि उनले उल्लेख गरेका छन्।

नागरिक जीवनमा सुधार महसुस गराउने आफूहरूको प्रतिबद्धता रहेको बताउँदै उनले यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको बताए।

'पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ। अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका लागि घरबाहिर निस्कने समय हो। उहाँहरूको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो', विज्ञप्तिमा भनिएको छ, 'सडक व्यापारले पैदलमार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो। त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिकरूपमा होइन पूर्ण र दीर्घकालीन रूपमा सञ्चालन गर्नेछ।'

१३ असोज, २०७९, १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।