गण्डकी प्रदेशका मन्त्री थापाले सांसद हुञ्जेल ५८ लाख खर्च गरे, कार्यकाल उपलब्धिमूलक नभएको पनि स्वीकारे

गण्डकी प्रदेशका मन्त्री थापाले सांसद हुञ्जेल ५८ लाख खर्च गरे, कार्यकाल उपलब्धिमूलक नभएको पनि स्वीकारे

पोखरा: गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले खर्च विवरण सार्वजनिक गरेका छन्। उनले आफूले पाएको सेवा सुविधाको रकम विकास निर्माणसहित सामाजिक कार्यमा खर्च गरेको विवरण सार्वजनिक गरेका हुन्।

उनले निर्वाचित हुनुअगावै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रण गरेको दावी गरे। मन्त्री थापाले मन्त्री बनिसकेपछि सरकारले प्रदान गर्ने आवास सुविधा पनि नलिएको बताए।

मन्त्री थापाले बताएअनुसार उनी सांसद निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा ५८ लाख २९ हजार खर्च गरेका छन्। बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री थापाले २०७४ मा निर्वाचित भएदेखि २०७८ चैत्रसम्ममा ५८ लाख २९ हजार ६६ रुपैया ५२ पैसा खर्च गरेको जानकारी दिए।

विवरणअनुसार पहिलो वर्ष १० लाख ५४ हजार ६५५ रुपैयाँ, दोस्रो वर्ष नौ लाख तीन हजार ७०१, तेस्रो वर्ष १२ लाख ४७ हजार ४० रुपैयाँ र चौथो वर्ष ११ लाख ३६ हजार ७०० रुपैयाँ खर्च भएको छ।

मन्त्री थापाले २०७४ सालदेखि हालसम्म सुविधाबापत बैंक खातामा ४० लाख ७१ हजार २४९ रुपैयाँ ३९ पैसा जम्मा भएकामा त्यसमा व्यक्तिगत रकम थप गरी ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको बताए।

बैंक खातामा जम्मा भएको रकममा बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेत जोडिएको उनले बताए।

उनले मुख्यमन्त्री र अर्थमन्त्री दुई फरक राजनीतिक पार्टीको भएका कारण प्रदेशमा वृद्धि गरिएको कर अहिले आएर हेरफेर भएको बताए। उनले बजेट निर्माणमा आफ्नो भूमिका शून्य रहेको बताउँदै आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न समेत नसकेको बताए।

मन्त्री थापाले फरक प्रसङ्गमा आफू आगामी निर्वाचनमा अन्तिम पटक चुनाव लडन चाहेको उल्लेख गरे। मन्त्री थापाले आफ्नो पहिलो कार्यकाल खासै उपलब्धिमूलक नभएको पनि बताएका थिए।

१३ असोज, २०७९, १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।