बालेनको सिको गर्दै पोखराका मेयर, सुरु गरे अन्डरग्राउन्ड खालि गराउने अभियान

बालेनको सिको गर्दै पोखराका मेयर, सुरु गरे अन्डरग्राउन्ड खालि गराउने अभियान

पोखरा : काठमाडौँ महानगरपालिकाले नक्सा विपरीत अन्डरग्राउन्ड पार्किङमा राखिएको पसल हटाउने अभियानलाई तीव्र बनाएसँगै पोखरा महानगरले पनि उस्तै अभियान सुरु गरेको छ।

महानगरपालिकाले पोखरा क्षेत्रका अन्डरग्राउन्ड पार्किङमा सञ्चालित व्यवसायलाई हटाउने अभियान सुरु गरेको हो। महानगरले आफ्नै स्वामित्वमा रहेको सिर्जनाचोकको भवनमा रहेको भूमिगत पाकिंङमा रहेका पसलहरू हटाएर यसको सुरुवात गरेको छ।

बुधवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिर्जनाचोक व्यवसायीs भवनको भूमिगत पार्किङमा सञ्चालन गरिँदै आएका पसललाई हटाएर अभियान सुरु गरे।

महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला बढ्दो सवारी चापसँगै पार्किङको समस्या देखिएपछि अन्डरग्राउन्ड पार्किङ प्रयोगमा ल्याउन थालिइएको हो।

महानगरले भदौ १३ मा पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो।

महानगरको सूचनाको म्याद अझ केही दिन बाँकी छ । तर, महानगरले सो अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी अभियानको शुभारम्भ गरेको आचार्यले बताए।

'महानगरले आफ्नै स्वामित्वमा रहेको भवनको अन्डरग्राउन्डमा संचालिन पसलहरू  हटाएर अभियानको सुरुवात गरेका छौँ। अब, पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन् ती घरका घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नुपर्छ।'

बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमति लिएर निर्माण गरिएका हरेक भवनहरूले यस अभियानको कार्यान्वयन अनिवार्यरुपमा गर्नु पर्ने प्रमुख आचार्यले बताए।

यस अवधिमा कतिपय व्यवसायीहरूले भूमिगत पार्किङहरू खाली गरी सकेको अनुगमनका क्रममा पाइएको महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले बताए। पोखरा महानगरपालिका भित्र २ सय ५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू रहेका छन्।

१२ असोज, २०७९, २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।