‘समाचार पढेर आफै लाज मान्नु पर्ने’ भनेपछि बुटवलका मेयर विवादमा

‘समाचार पढेर आफै लाज मान्नु पर्ने’ भनेपछि बुटवलका मेयर विवादमा

बुटवल : बुटवल उपमहानगरपालिकाले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नगर प्रमुख र पत्रकारबिच विवाद भएको छ। एक पत्रकारले आफूलाई नकारात्मकता बुझेको प्रतिक्रियामा उपमहानगर प्रमुख खेलराज पाण्डेले पत्रकारको समाचारमा अपमानजनक शब्द प्रयोग गरेपछि विवाद भएको हो।

उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचनपछि चार महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा पत्रकार डिबी सुस्लिङले नगर प्रमुखले आफू र आफ्नो समाचारलाई नकारात्मकता बुझ्ने र लिने गरेको प्रतिक्रिया दिएका थिए।

नगर प्रमुख पाण्डेले ‘समाचार पढेर आफै लाज मान्नु पर्ने’ भनेपछि पत्रकारहरूले आपत्ति जनाएका थिए। पाण्डेले अपमानजनक शब्द प्रयोग गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्ना कार्यसमिति सदस्य सुस्लिङप्रति भएको अपमानले स्वतन्त्र प्रेसप्रतिको सम्मानमा आँच पुगेको उल्लेख गर्दै विज्ञप्ति निकालेको छ।

अध्यक्ष लक्ष्मण पौडेलद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन आयोजना गरिएको स्थलमै पत्रकार सुस्लिङलाई नगर प्रमुख जस्तो पदमा बसेको व्यक्तिले अनावश्यक लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय भएको उल्लेख छ। 

१२ असोज, २०७९, २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।