चर्को विवादपछि फेरिएको महाकवि देवकोटाको कविकुञ्ज, फुरुङ्ग छन् छोराछोरी 

चर्को विवादपछि फेरिएको महाकवि देवकोटाको कविकुञ्ज, फुरुङ्ग छन् छोराछोरी 
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : ठ्याक्कै ४ वर्षअघि (२०७५ मंसिर पहिलो हप्ता) महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर पुग्दा भग्नावेश भइसकेको थियो। घरको ढोका समेत राम्रोसँग लाग्दैनथ्यो। भित्र सामान असरल्ल। देवकोटाको तस्बिरमा धुलैधुलो। 

त्यतिबेला देवकोटाकी छोरी अम्बिकादेवी रिमालले भनेकी थिइन्, ‘माथि त म उक्लिन सक्दिन तपाईंहरू सक्ने भए जानोस्।’

फोटो पत्रकार कृष्पा श्रेष्ठ र म डराई–डराई माथि उक्लेर फोटो खिचेका थियौं। फोटो खिच्न केही बेर लाग्दा अम्बिकादेवीले तलबाट बोलाउँदै थिइन्, ‘छिटो झर्नुस् गेलुवा झरेर किच्ला।’

हामी हतार–हतार फोटो खिचेर तल झर्यौँ। 

त्यतिबेला अम्बिकादेवीले भनेकी थिइन्, ‘महाकवि देवकोटाको घर भन्न पनि लाज मर्नु भएको छ। सरकारले संग्रहालय बनाउने कुरा गरेको छ रे, यो घरको व्यवस्थापन गरिदिए हुन्थ्यो।’

सरकारले देवकोटा निवासलाई संग्रहालय बनाउने निर्णय गरिसेकेको थियो। तर प्रक्रिया अगाडि बढेको थिएन। १२ आना जग्गासहित महाकवि देवकोटाको घरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेर परिवारको सहमतिमा प्रज्ञा प्रतिष्ठान मातहत रहने गरि महाकवि देवकोटाको नाममा संग्रहालय मातहत जग्गा ल्याइयो र भवन बनाउने काम शुरु भयो।

४ वर्षपछि देवकोटाको घर कवि कुञ्ज पुग्दै गर्दा घर बन्दैछ। अब फिनिसिङको काम मात्रै बाँकी रहेछ। भग्नावेश भइसकेको घरको मुहार फेरिइसक्यो। पूरानो र आधुनिक प्रविधीको सम्मिश्रणमा नयाँ घर बनेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताए।

‘हामीले महाकवि देवकोटाको घरको प्रयोग गर्न मिल्ने पुरानो सामान प्रयोग गरेका छौं,’ उनले भने,  ‘नयाँ पनि राखेका छौं, पुरानो र नयाँको सम्मिश्रणमा देवकोटा संग्रहालय बन्यो।’

विवादै विवादले घेरिएको संग्रहालय

२०७८ साउनमा संग्रहालय बनाउने भन्दै प्रज्ञा प्रतिष्ठानले देवकोटाको घर भत्कायो। घर भत्केपछि रेट्रोफिटिङ नगरिएको भन्दै सम्पदा अभियान रवीन्द्र पुरी लगायतले विरोध जनाए। अधिवत्ता सञ्जय अधिकारीले त घर नभत्काई प्राचीन स्वरूपमै संरक्षण गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता समेत गराए।

रिटमाथि सुनुवाइ गर्दै अदालतले प्राचीनता नमासिने गरी संरक्षण गर्न पुरातत्त्व विभागको समन्वयमा बनाउन अन्तरिम आदेश दियो। तर, घर करिब–करिब सबै भत्काइसकिएको थियो। इन्जिनियरहरूको रिर्पोटले रेट्रोफिटिङ गर्न नसकिने भनेको भन्दै प्रतिष्ठानले घर भत्काएको थियो।

घर भत्काएपछि प्रज्ञा प्रतिष्ठानमाथि अदालतको आदेश नमानेको आरोप लाग्यो। तर त्यो स्वीकार्न प्रतिष्ठान तयार छैन।

‘हामीले अदालतको आदेश नमानेको भन्ने आरोप गलत हो, पुरातत्त्वको समन्वयको आधारमा बनाउने आदेश दिएको थियो, सोही आधारमा बनाएका हौं,’ प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले भने।

आफूहरूले इन्जिनियरले दिएको रिर्पोटका आधारमा नयाँ घर बनाएको उपाध्यायको दाबी छ। टेण्डर नै नगरी रेट्रोफिटिङको माग गरेकालाई अनुमति नदिएकाले लफडा झिकेको उनको भनाइ छ।

देवकोटाको घर बनाउनुअघि प्रतिष्ठानले राखेको बैठकमा सम्पदाविद् पुरीलाई बोलाइएको थियो। उनले रेट्रोफिटिङ आफूले गर्ने तर प्रतिष्पर्धाविना नगर्ने बताएका थिए। यसमा प्रतिष्ठानले नमानेको उपाध्यायको दाबी छ।

त्यतिबेला उकेराको कुराकानीमा भने पुरीले घर रेट्रोफिट गरिने सल्लाह आफूले दिएको, सहयोग गर्न तयार रहेको तर टेण्डर प्रक्रियामा नगएर भन्ने शब्द नबोलेको दाबी गरेका थिए। 

प्रतिष्ठानले घर भत्काउनुअघि उकेरालाई प्राप्त इन्जिनियरहरूको रिपोर्टमा संग्रहालय बनाएर घर भ्रमण गराउने हो भने रेक्ट्रोफिटिङ गरेर नधान्ने उल्लेख छ। नेपाल प्रज्ञा प्रतिष्ठानले तीन जना इन्जिनियरको अध्ययन समिति गठन गरेको थियो। सो समितिले देवकोटाको घरको प्राविधिक पक्षको अध्ययन गरेर प्रतिवेदन पेश गरेको थियो।

१४ पृष्ठको प्रतिवेदनमा घर बस्नसक्ने अवस्थामा नरहेकाले रेट्रोफिटिङ गर्नुभन्दा पनि उही शैलीमा नयाँ भवन बनाउनु राम्रो भन्ने सुझाव दिइएको थियो। इन्जिनियर महेन्द्रबहादुर कार्की, शान्ति अर्याल थापा र गम्भीरलाल श्रेष्ठले पेश गरेको प्रतिवेदनमा घर भत्काउनुपर्ने सुझाव दिइएको छ।

‘घर पूरै मक्किएको थियो, रेट्रोफिट गर्ने अवस्थामा हामी थिएनौं,’ इन्जिनियर कार्कीले भनेका थिए, ‘त्यसैले त्यही स्वरूपमा पुनः बनाउनुपर्छ भन्ने हाम्रो राय रह्यो, प्रतिष्ठानले सोहीअनुसार काम गरेको हो।’

घर अगाडि दुबो भए पनि ढुंगा छापिएको छ। देवकोटाको पुरानै शैलीको घर बनाउने भनेर किन ढुंगा छाप्नुभएको भन्ने उकेराको प्रश्नमा उपाध्यायले भने, ‘संग्राहलय भएपछि अफिस हुन्छ गाडि पार्किङ गर्ने ठाउँ चाहिएर बनाएका हौं। सकेसम्म जस्ताको तस्तै बनाएका छौं। व्यावहारिकता पनि साथीहरूले बुझिदिनुपर्यो।’

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवर अदालतको आदेशअनुसार नै विभागले निर्देशन दिएको र देवकोटाको नयाँ घर बनेको दाबी गरे।

‘सुरुमै अदालतमा घर नभत्काउन रिट परेको थियो। घर आधा भत्किसकेको थियो। अदालतले विभागको रायअनुसार काम गर्नु भनेर प्रतिष्ठानलाई आदेश दिएको थियो,’ कुँवरले भने, ‘हामीले सोही अनुसार निर्देशन दियौं, घरको फिनिसिङको काम हुँदैछ। प्रतिष्ठानले हाम्रो सल्लाह मानेको छ।’
 

फुरुङ छन् देवकोटाका छोराछोरी
३ तलाको भवन बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्याय लक्ष्मी जयन्तीको अवसरमा संग्रहालय भवन बनिसक्ने बताउँछन्।

‘अदालतमा मुद्दा परेको कारण केही ढिला भयो नत्र निर्माण सुुरु भएको एक वर्षमा सकिन्थ्यो,’ उनले भने, ‘लक्ष्मी जयन्तीको अवसरसम्म त संग्रहालय बनिसक्छ।’

उपाध्यायका अनुसार पुरानो घरमा नयाँ सामान फिट गरिएको छ। एसीदेखि लिफ्टसम्म प्रयोग गरिएको छ। पहिलो तलामा शालिकदेखि वाचानलय, दोस्रोमा पुस्तकालय देवकोटाको शयन कक्ष तथा तेस्रो तलामा छलफल गर्न मिल्ने बैठक हुने उनले बताए।

देवकोटाकी छोरी अम्बिकादेवी रिमाल र देवकोटाका छोरा पद्यप्रसाद देवकोटा बन्दै गरेको घर हेरेर फुरुङ्ग छन्। 

‘जीर्ण थियो घर, जसले पनि देवकोटाको घर भनेर नाक खुम्चाएर जान्थे। अहिले यति बनेको छ। मलाई अति नै खुसी लागेको छ,’ रिमालले भनिन्, ‘सबैलाई चित्त बुझाउन सकिँदैन। जे बनेको छ हामीलाई खुसी लागेको छ।’

देवकोटाका छोरा पद्यप्रसाद देवकोटा पनि बन्दै गरेको घरप्रति सन्तुष्ट देखिए।

‘सबैलाई चित्त बुझाउन सकिन्न,केही नयाँ कुरा हुन लाएपछि विरोध हुनु स्वभाविक हो,’ उनले भने, ‘संग्रहालय बन्यो, म यसैमा खुसी छु।’

रिमालले महाकवि देवकोटाको हस्तलिखित सामग्री कोही व्यक्ति तथा संस्थासँग भए पनि ल्याएर बुझाउन आग्रह गरिन्।

‘संग्रहालयमा उहाँका सामानहरू राख्नुपर्ने हुन्छ। हामीसँग भएको त हामी राखिहाल्छौं,’ उनले थपिन्, ‘जो सँग जे छ देवकोटाका सामान उहाँहरूले यहाँ बुझाउन विनम्र आग्रह गर्दछु।’

१२ असोज, २०७९, १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।