नेपाली बजारमा ग्राहकै छैनन्, भारतको सुनौलीका व्यापारीलाई भ्याई-नभ्याई

नेपाली बजारमा ग्राहकै छैनन्, भारतको सुनौलीका व्यापारीलाई भ्याई-नभ्याई
तस्बिर : विकाश पराजुली

बुटवल : अहिले नेपालमा चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ९३ रुपैयाँ छ। तर यही चिनीको मूल्य रुपन्देहीको बेलहिया नजिकै सीमावर्ती भारतीय बजार सुनौलीमा प्रतिकेजी ४५ देखि ६५ रुपैयाँमा पाइन्छ।

चिनी मात्र होइन, चिया, साबुन, सरफ, लत्ताकपडा पनि नेपाली बजारमा भन्दा भारतीय बजारमा २० देखि ४५ प्रतिशतसम्म सस्तो छ। त्यसैले त हरेक चाडपर्वमा सीमावर्ती बजार सुनौली गुलजार हुन्छ नेपाली ग्राहकहरूबाट। यता नेपालको बजार भने सुनसान हुन्छ।

घटस्थापना लागेसँगै सीमावर्ती बजारमा किनमेल गर्नेहरूको भिड बढिसक्यो। दसैँलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा किन्न नेपालीहरू सीमावर्ती बजारमा पुगिरहेका छन्। उताका व्यापारीलाई भ्याई नभ्याई छ। यताका व्यापारी ग्राहक नभएर हाई गरेर पसलमा बसिरहेका देखिन्छन्।

'नेपालमा भन्दा सुनौलीमा सामान केही सस्तो छ नै। त्यसैले नेपाली उपभोत्ताहरु त्यतै जान्छन्। राज्यले सीमा क्षेत्रमा रहेका बजारमा किनमेल गर्नेहरूको विवरण मात्र ल्याउँदा पनि उपभोक्ता त्यसरी बजारमा जान कम हुन्छ’ सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाका अध्यक्ष भीष्म न्यौपानेले भने।

उनले नेपाली उपभोत्ताहरु सस्तोको लोभका कारण सुनौली बजारमा किनमेल गर्न जाँदा ठगिने  गरेको समेत दाबी गरे। उपभत्ताले सस्तो भन्दैमा भारतीय बजारबाट कम मूल्यमा कमसल र अखाद्य बस्तु खरिद गर्ने गरेको उनले दाबी गरे।

'गुणस्तरको मापन कसले गर्ने? कम गुणस्तरका खाद्यान्न लत्ताकपडा नेपाली बजारमा भन्दा सस्तो पाउँदा उपभोक्ता सुनौली गएका छन्। हामी व्यापारी, राज्यले पनि उपभोक्तालाई सचेत गराउन नसक्दा नेपाली बजार सुनसान हुँदा सुनौलीमा भिड बढेको हो’उनले भने।

सरकारले स्वदेशी उत्पादनमा लगाएको करले दैनिक उपभोग्य सामग्री नेपालमा महँगो हुने भएकाले पनि भारतीय बजारमा किनमेल गर्न जाने नेपालीको सङ्ख्या बढ्ने उनको भनाई छ। चाडपर्वको बेला बाहेक पनि सीमा कटेर दैनिक उपभोग गर्ने खाद्यान्नसहित लत्ताकपडा किनमेल गर्न बुटवल, भैरहवा, देवदह, सैनामैना लगाएका स्थानबाट सुनौली जाने गर्दछन्। सुनौली जाने अधिकांश ग्राहक नेपालकै हुन्। त्यहाँ साना ठुला ६ सय बढी पसल छन्।

सुनौलीमा ९ वर्ष देखि व्यापार गरेका महेश गुप्ता नेपाली बजारमा भन्दा राम्रो र कम मूल्यमा खाद्यान्न र लत्ताकपडा पाइने भएकाले नेपालीहरूको रोजाइमा सुनौली बजार परेको बताउँछन्।

'कोभिडमा आवतजावत ठप्प हुँदा सुनौलीमा पनि व्यापार भएन। अहिले भने सुनौलीमा व्यापार बढेको छ। चाडपर्वमा त अझ बढी नै भिडभाड हुन्छ। विशेष गरी शनिवार यहाँ धेरै भिडभाड हुन थालेको छ’ उनले भने।

कुनै–कुनै समयमा नेपाली उपभत्ताले ५ किलो चिनी र केही खाद्यान्नका सामाग्री लैजाँदा भारतीय र नेपाली प्रहरीबाट उपभत्ताले हैरानी पाएको उनले बताए।

‘चोरी निकासी भयो भने प्रहरीले सतर्कता देखाउने हो। तर २-४ रुपैयाँ सस्तोका लागि उपभोक्ता सुनौली आएर सामान लैजाने गर्छ भने त्यसलाई हैरान बनाउनु गलत हो’ उनले भने।

अर्का व्यापारी सहिदराम अहमदले पनि चाडपर्व लागेसँगै बजारमा भिडभाड बढेको बताए। चाडपर्वको समयमा सुनौली बजारका पसलमा पनि विभिन्न छुटका योजनाहरू हुने भएकाले चाडपर्वमा सुनौलीमा विशेष नेपाली उपभत्ताको भिड लाग्ने गरेको उनले बताए।

दैनिक उपभोग्य बस्तु खरिदका लागि भारतीय बजारमा जान उपभोक्तालाई रोक्नुपर्ने आवाज बेलाबेला उठे पनि सीमावर्ती सुनौली बजारमा नेपाली जान रोकिएका छैनन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले भन्सारबाट आयात हुने सामानको रेकर्ड सरकारले राख्ने हो भने विना भन्सार आउने सामाग्री रोकिने बताए।

‘हामीले हाम्रो देशमा आउने सामान रेकर्ड गरौँ। त्यसपछि चिनी कति भन्सारबाट आउँछ अनि कति झिनी झाम्टाबाट आउँछ त्यो थाहा हुन्छ। यसले बजेट बनाउन सहज हुन्छ। त्यसपछि भन्सार नीति बनाउन सजिलो हुन्छ भनेर भनेका छौ। राज्यभरिका सबै नाकामा एकै पटक यो कार्यको थालनी गरेमा नेपालका नाका व्यवस्थित हुन्छन्' उनले भने।

उनले साना-साना छोटी भन्सारका कारण पनि भन्सार छली भएर अवैध सामान नेपाल भित्रिने गरेकाले देशमा भएका ६ वटा ठुला नाकाहरू व्यवस्थित गर्नुपर्ने बताए।

‘हामीले नेपाली उपभोक्तालाई कसरी सर्वसुलभ रूपमा सामान दिन सक्छौ भनेर योजना बनाउँछौ। तर सीमाबाट आउने चोरी-निकासी सामाग्रीले प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था आउँछ। त्यसैले भन्सार व्यवस्थित पनि हुन्छ समस्या पनि समाधान हुन्छ' उनले भने।

यस क्षेत्रका व्यवसायी सङ्घसंस्थाहरूले विशेषतः चाडपर्वको समयमा नेपाली उपभोक्तालाई स्वदेशमै सस्तो र सुलभ मूल्यमा दैनिक उपभोग्य बस्तुको खरिदका लागि सरकारले छुट दिन सक्ने हो भने नेपाली बजार पनि सुनौली जस्तै गुलजार बन्ने निश्चित छ।

त्यति मात्र हैन, सुनौलीमा नेपाली उपभोक्ता ठगिनबाट पनि बच्नेछन्। बुटवलबाट सुनौली बजारमा किनमेल गर्न आएका राजेन्द्र झिक्राले बुटवलमा भन्दा धेरै सस्तोमा दैनिक उपभोग्य बस्तु किन्न पाइने भएकाले यता आएको बताए।

'बुटवलमा कपडा धेरै महँगो छ। एक जनालाई किन्ने पैसाले सुनौलीमा दुई जनालाई पुग्छ’ उनले भने।

सुरक्षा सतर्कता बढाइयो

दसैँ, तिहार, छठलगायतका पर्वहरूलाई लक्षित गरी जिल्लाको सुरक्षा योजना समेत बनाइएको छ। रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार चाडपर्वको समयमा आपराधिक क्रियाकलापहरू चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा सङ्कलन, झैँ–झगडा, दुर्घटना, अवैध हातहतियार ओसारपसारका घटना हुनसक्ने भन्दै विशेष योजना बनाइएको बताए।

यस्ता कार्य रोक्न प्रहरी सक्षम रहेको चौबीसै घण्टा आम नागरिकलाई सुरक्षा दिन लागेको उनको भनाई छ।

पर्वको मौकामा पटका पड्काउने, आतिसबाजी गर्ने, विभिन्न समूहले देउसी भैलो तथा अन्य सांस्कृतिक कार्यक्रमहरूको नाममा गैर क्रियाकलाप गर्ने लगायतका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्रियाकलापलाई नियन्त्रण एवं न्यूनीकरण गरी जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मजबुत राख्न सुरक्षा रणनीति बनाएर काम गरेको उनले बताए।

प्रहरीका अनुसार सामान्य अवस्थामा भन्दा पर्व लक्षित गरी सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको छ। यस्तै,  दसै सुरक्षासम्बन्धी भिडियो–अडियो बनाएर धेरै भिडभाड हुने ठाउँ र सीमा क्षेत्र बजाइने–देखाइने छ।

सीमा क्षेत्रमा कडा चेकजाँच गर्ने, पैदल, साइकल, मोटरसाइकल र गाडीद्वारा गस्ती गर्ने, देउसी भैलो खेल्ने क्रममा विवाद, झगडा हुन सक्ने हुँदा सोको सुरक्षा व्यवस्था मिलाउने र देउसी भैलो खेल्ने समय राति १० बजेसम्म निर्धारण गरिएको प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने लुटपाट, चोरी–डकैती लगायतका घटनाहरू हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डल समेतसँग समन्वय गरी सुरक्षा प्रबन्ध चुस्त बनाउनेछ। चाडपर्वका लागि जिल्लाभरि नेपाल प्रहरी १ हजार २ सय ४८ जनाको सङ्ख्यामा परिचालन गर्ने जनाइएको छ।

१२ असोज, २०७९, १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।