‘पूर्व’ भइसकेका सांसदलाई लुम्बिनी प्रदेश सभाले विदाइ गर्ने, एमालेद्वारा बहिस्कार

‘पूर्व’ भइसकेका सांसदलाई लुम्बिनी प्रदेश सभाले विदाइ गर्ने, एमालेद्वारा बहिस्कार

बुटवलः आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा लुम्बिनी प्रदेश सभा सचिवालयले सांसद विदाइ कार्यक्रम राखेको छ।

प्रदेश सभाको कार्यकाल सकिने भएकाले असोज १४ गते दिउँसो १ बजे दाङमा प्रदेश सभा सचिवालयले सांसदहरूलाई विदाइ कार्यक्रम राखेको कार्यक्रमलाई एमालेले बहिस्कार गर्ने भएको छ।

आचारसंहिता लागू भइसकेको र सांसदहरू ‘पुर्व’ भइसकेको अवस्थामा पुनः सांसदको हैसियतमा विदाइ कार्यक्रममा उपस्थित हुन नसकिने एमाले नेता भुमिश्वर ढकालले बताए।

आचारसंहिता विपरीत राखिएको कार्यक्रममा एमालेबाट यसअघि सांसद भएका कोही पनि सहभागी नहुने उनको भनाइ छ।

‘आचारसंहित लागू भइसकेको अवस्थामा हामी कसरी सांसदको हैसियतले सम्मान थाप्ने जाने?’ उनले भने ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले कार्यक्रमबारे भर्खरै जानकारी पाएको र आयोगसँग यसबारेमा स्पष्ट निर्देशन माग गरेको जानकारी दिए।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागू नहुने दाबी गरे।

१२ असोज, २०७९, १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।