बंगलादेशले क्लीन स्वीप गर्‍यो युएईविरुद्धको टी–ट्वान्टी सिरिज 

बंगलादेशले क्लीन स्वीप गर्‍यो युएईविरुद्धको टी–ट्वान्टी सिरिज 

काठमाडौंः युएईको भ्रमणमा रहेको बंगलादेशी क्रिकेट टीमले दुई खेलको टी–ट्वान्टी सिरिज क्लीन स्वीप गरेको हो।

मंगलबार राति दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको दोस्रो तथा अन्तिम टी–ट्वान्टीमा १७० रनको लक्ष्य पछ्याएको युएईले पाँच विकेट गुमाएर १३७ रनमा समेटिँदा बंगलादेशले सिरिज क्लीन स्वीप गरेको हो।

युएईका चुन्दन्गापोयिल रिजवानले ५१, बसिल हमीद ४२ र मोहम्मद वसीमले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

बंगलादेशका मोसाद्दक हुसेनले दुई तथा इबादत हुसेन, नसुम अहमद र टस्कीन अहमदले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको बंगलादेशले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १६९ रन बनाएको थियो। उसका लागि म्हेदी हसनले ४६, मोसद्दक हुसेनले २७, लिट्टन दासले २५, यासिर अलीले २१, नुरुल हसनले १९, अफिफ हुसेनले १८, सब्बिर रहमानले १२ रन बनाए।

बलिङतर्फ युएईका आयान अफ्जल खानले दुई तथा कार्तिक मेइयाप्पन, आर्यन लाक्रा र अबिर अलीले समान एक–एक विकेट लिए।
त्यसअघि भएको पहिलो खेलमा पनि बंगलादेश ७ रनको विजयी भएको थियो।

१२ असोज, २०७९, ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।