३५ हजार तस्वीर लिएर ड्रोनबाट नापियो मोतीपूर औद्योगिक क्षेत्रको जग्गा

३५ हजार तस्वीर लिएर ड्रोनबाट नापियो मोतीपूर औद्योगिक क्षेत्रको जग्गा

बुटवलः लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि ६ वर्षदेखि अलपत्र बुटवल मोतीपुर औद्योगिक क्षेत्रको नापजाँच पूरा भएको छ।

पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको क्षेत्रमा स्थानीयको अवरोध हुने भयले ड्रोनबाट नापजाँच गरिएको हो।

बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट सुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपूर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी दिए।

नापजाँचको क्रममा ड्रोनबाट ३५ हजार तस्वीर लिइएको र ती तस्वीरका आधारमा औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने नापजाँचमा खटिएका प्राविधिक सागर गिरीले बताए। तथ्यांक प्रशोधनका लागि करीब १ महिना लाग्ने र पुनः फिल्ड अध्ययनपछि अन्तिम रिपोर्ट तयार गर्ने उनले जानकार दिए।

प्राविधिक टोलीले जाँचपछि तयार पार्ने तथ्यांकका आधारमा मोतीपूर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

पाण्डेयले प्राविधिक टोलीले उपलब्ध गराउने तथ्यांकका आधारमा औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिश गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने बताए।

उनले संघीय सरकारले स्थानीय तहको सिफारिसका आधारमा औद्योगिक क्षेत्रका नाममा थप जग्गा ल्याउनुपर्ने या घटाउनुपर्ने भएमा निर्णय गरेर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने बताए। 

‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिगाहा भन्ने लालपूर्जा आएपनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने यकिन नभएकाले विवाद थियो, अब यो विवाद हट्नेछ, स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ’, उनले भने।

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा बनेको कार्यदलले ड्रोनबाट जग्गा नापजाँच गरिसकेर प्रतिवेदन तयार गर्ने र सोहीअनुसार प्राप्त विवरणका आधारमा औद्योगिक क्षेत्रको जग्गाको क्षेत्रफल घटाउन सकिने वा नसकिनेबारे प्रतिवेदन तयार गरी पेस गर्नेछ । 

प्राविधिकले अन्तिम रिपोर्ट पेस गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाबाट निणर्य गरी सिफारिस गर्ने कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।

मोतीपूर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि १० भदौमा गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो।

११ असोज, २०७९, १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।