बागमती प्रदेश सरकारले यस वर्षलाई 'घुमफिर वर्ष'को रूपमा मनाउने

बागमती प्रदेश सरकारले यस वर्षलाई 'घुमफिर वर्ष'को रूपमा मनाउने

काठमाडौं: बागमती प्रदेश सरकारले यस वर्षलाई 'घुमफिर वर्ष'का रूपमा मनाउने भएको छ। बागमती प्रदेशभित्रका पर्यटकीयस्थलको प्रचार–प्रसार र पवर्द्धन गर्ने उद्देश्यले घुमफिर वर्ष मनाउन लागिएको हो।

बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसका अवसर आज घुमफिर वर्ष २०७९-८० को शुभारम्भ गर्दैछ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले चितवनको सौराहाबाट घुमफिर वर्ष घोषणा गर्न लागिएको जानकारी दिएको छ। कोभिड- १९ ले पर्यटन क्षेत्रलाई धेरै असर गरेको भन्दै यहाँको प्रकृतिक सांस्कृति सम्पदाको प्रवर्द्धन गर्न घुमफिर वर्ष मनाउन लागिएको बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका शाखा प्रमुख उत्तम चापागाईँले जानकारी दिए। 

कार्यक्रम प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने उनको भनाइ छ। बागमती प्रदेशमा धेरै धार्मिक पर्यटकीयस्थल भएकाले तिनीहरूको उजारसँगै प्रचार–प्रसार गर्नका लागि बागमती प्रदेश सरकारले गत भदौ १६ गते गरेको निर्णयानुसार घुमफिर वर्ष मनाउन लागिएको कार्यालयका उपससचिव रमेश पौडेलले बताए।

घुमफिर वर्षका अवसरमा बागमती प्रदेशभित्र रहेका सौराहासहित, सैलुङ, मुढे, खाँडादेवी मन्दिरलगायतका स्थानको प्रवर्द्धन गरिने उनले जानकारी दिए।

११ असोज, २०७९, १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।