कला परिषद्मा 'हिमालय आर्ट फेस्टिभल' हुँदै, वरिष्ठ कलाकार हरिप्रसाद शर्माको चित्र अक्सनमा

कला परिषद्मा 'हिमालय आर्ट फेस्टिभल' हुँदै, वरिष्ठ कलाकार हरिप्रसाद शर्माको चित्र अक्सनमा

काठमाडौं: सोमबारदेखि नेपाल कला परिषद् बबरमहलमा हिमालय आर्ट फेस्टिभल चलिरहेको छ। १४ गते शुक्रबारसम्म चल्ने यस बृहत् कला प्रदर्शनीको उद्घाटन नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले गरेकी हुन्।

राजदूत भोल्कले यस्ता प्रदर्शनीले कला जगतमा थप ऊर्जा प्रदान गर्ने तथा कलाको विकासको लागि नेपाली जनमानसहरू नै अगाडि आउनु पर्ने बताइन्।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू, कला पारखीहरू, कलाकारहरूको उपस्थिति रहेको थियो। नेपाली कला जगत्‌का विषयमा छलफल चलाउने, कलाकारहरूसँग संवाद गर्ने, सांगीतिक कार्यक्रम गर्ने जसले विभिन्न कलाकारहरूलाई एकै थलोमा कलाको भलाकुसारी गर्ने अवसर मिलोस् भन्ने उदेश्य यस प्रदर्शनीको रहेको छ।

साथै, वरिष्ठ कलाकार हरिप्रसाद शर्माको चित्रकला अक्सनमा समेत राखिएको छ।

यस्तै नेपालको व्यापारिक कम्पनीहरू तथा लगानीकर्ताहरूले समेत कलामा लगानी गर्न यस प्रदर्शनीले प्रोत्साहन गर्ने उद्देश्य लिएको छ। नेपालमा रहेका कला संकलकहरूले नेपाली कलाको अवस्था र कलाकारहरूको प्रगति समेत यस प्रदर्शनीबाट थाहा पाउन सक्नेछन्।

ई–आर्टस्‌ले सन् २०१७ देखि निरन्तर रूपमा हरेक वर्ष नेपालीहरूको महान् चाड दशैंको अवसरमा फेस्टिभल आयोजना गर्दै आइरहेको छ। यसका सह—संस्थापक आशा डङ्गोल मानिसहरू दशैंका लागि लुगा किन्ने भएकाले घरको सजावटको लागि चित्रकलाहरू पनि किन्छन् भन्ने सोचले फेस्टिभल आयोजना गरेको बताउँछिन्।

नेपाली कलाकृति नेपालीकै घरमा सजिऊन् भन्ने उद्देश्य यस प्रदर्शनीले बोकेको डंगोल बताउँछिन्।

नेपाली कलाकृति पनि आकर्षक मूल्यमा मध्यम वर्गीय परिवारले किन्न सक्छन् भनेर कला प्रर्दशनी गरिएको हो। करिब १३० भन्दा बढी कालकारहरूले आफ्नो कला प्रदर्शनीमा राखेका छन्।

नेपाली कलाकारहरूको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने सहभागी कलाकारहरू बताउँछन्।

प्रदर्शनीमा नेपाली वरिष्ठ कलाकारहरूदेखि नयाँ पुस्ताका कलाकारहरूको कामलाई समेत राखिएको छ। कलाकारहरू शशि शाह, किरण मानन्धर, शशिकला तिवारी, हरिप्रसाद शर्मा, कृष्ण मानन्धर, राजन काफ्ले, भुवन थापा, आशा डंगोल, एरिना ताम्राकार, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सविता डंगोल, इशान परियार, जगदिश मोक्तान, पूजा दुवाल, नवीना सुनवार लगायत करिब १३० जना कलाकारहरूको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ।

११ असोज, २०७९, ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।