वर्षको तीन महिना मात्र खुल्ने पसलका साहुजी विपिन

वर्षको तीन महिना मात्र खुल्ने पसलका साहुजी विपिन

काठमाडौंः दशैं आए पनि आकाशमा रंगीबिरंगी चंगा देखिएका छैनन्।

कुनैबेला चराचुरुंगीलाई नै चुनौति दिँदै मस्त हावासँग उड्ने चंगा यति बेला फाट्टफुट्ट कुनै रेष्टुरेन्ट, सपिङ मल र गाडीको शोरुमको भित्तामा टाँसिएका देखिन्छन्।

अब चंगा उडाउने भन्दा पनि बढी सजावटको सामानको रूपमा देखिन थालेका छन्। त्यसैले पनि होला सजाउन मिल्ने आकारका चंगाहरू बजारमा बढि पाइन्छन्।

आकाशमा उड्न कम भएसँगै चंगा पसलहरू पनि हराउँदै गएका छन्। व्यापारीहरूले चंगा बेच्नै छाडिसके। अहिलेसम्म गरिरहेकाहरू अधिकांश पनि अर्को वर्ष नगर्नेमा पुगिसकेका छन्।

काठमाडौंको रक्तकालीमा विगत २० वर्षदेखि चंगा व्यापार गरिरहेका विपिनराज वैद्य यसलाई जोखिमको व्यापार भन्छन्। चंगाको सिजन तीन महिना मात्र भएकाले पनि यसले जीवन धान्न मुस्किल पर्ने उनको अनुभव छ।

‘मेरो त आफ्नै घर भएर पनि केही सहज भएको हो, नत्र तीन महिनाको व्यापारले धान्न गाह्रो हुन्छ,’ उनले भने, ‘भाडा थोरैको पनि दश हजार पर्छ, भाडा र चंगाको लागत तिर्नै हम्मे–हम्मे पर्छ, अहिले व्यापार पनि कम छ।’

आफूले यसअघि नै छोड्न खोजे पनि चंगाको नशाले छोड्न नसकेको उनी बताउँछन्। अर्को वर्षदेखि चंगाको ‘होम प्रोडक्सन’ खोल्ने विचार पनि छ उनको। 

‘सामानहरू सबै भारतबाट नै महंगो भएर आएको छ,’ उनी भन्छन्, ‘मेरो लागि त यो एउटा दलदल पनि भइसक्यो, नगरौं उम्कन गाह्रो, गरौं धान्नै साह्रो।’

नेपाली लट्टाई बाहेक यसको सम्पूर्ण समान विदेशमा नै बन्छ। उनले यसअघि अनि आफैँले यहाँ चंगा बनाउने प्रयास नगरेका होइनन्। तर नेपाली उत्पादनलाई राम्रो नमान्ने नेपाली बानीले उनको सपना पूरा भएन। कामदार पाउन पनि उत्तिकै गाह्रो भएको उनले बताए।

वैद्य भारतबाट ल्याएको सामानको ५० देखि ८० प्रतिशत व्यापार हुने बताउँछन्। सामान्यतया पाँच लाखको सामान ल्याएर ८ लाखसम्म व्यापार गर्ने यसपटक भने ल्याएका ५० प्रतिशत सामान बिक्नेमा पनि ढुक्क छैनन्।

चंगाको उत्पादन नेपालमै गर्नका लागि पनि कच्चपदार्थ सबै भारतबाट नै आयात गर्नुपर्ने उनी सुनाउँछन्।

‘पहिला त हामी आफैँले माजा हाल्थ्यौं, धागो फ्याक्ट्रीहरू पनि यहिँ थियो, माजा हालेर गर्दा हजार रूपैयाँ पर्ने धागो ३–४ सयमा आउछ,’ उनले भने ‘भारतबाट बनाएर ल्याउँदा त एक रोल धागोको मात्र करिब पाँच सय रूपैयाँ तिर्नुपर्ने हुन्छ।’

नेपालमै उत्पादन गर्न सके चंगाको मूल्य पनि सस्तो पर्ने उनी बताउँछन्।

‘यहाँ बनाउन सम्भव नभएको होइन तर, मास प्रोफक्सन निकाल्न गाह्रो छ,’ उनले भने, ‘एउटा चंगा बनाउन २ देखि साढे २ सय रूपैयाँसम्म खर्च हुन्छ, त्यसमा हामीले नाफा हालेर बेच्दा पनि ५ सय रूपैयाँभन्दा बढी पर्दैन।’

१६ वर्षको उमेरमा चंगा व्यापारी
काठमाडौंको नेवार परिवारमा जन्मिएका विपिनको पुर्ख्यौली पेशा भने औषधि व्यापार हो। उनका काकाहरू अहिले पनि त्यहि काम गर्छन्। तर, उनको परिवारले भने भने त्यो पेशालाई अंगाल्न चाहेनन्। चंगा उडाएर र खेलेर नै उनको बाल्यकाल बित्यो। एसएलसीपछि उनको टोलमा चंगा पाउनै छोड्यो। 

‘हाम्रो टोलमा एउटा पुरानो चंगा पसल थियो, होलसेल पसल छोडेर गएपछि यहाँ कोहि पनि भएन,’ उनले भने, ‘यहाँको मान्छेहरू टाढा टाढा जानु पर्ने भएपछि हामीले नै सुरु गर्यौं।’

पाँच हजार रूपैयाँमा होलसेलबाट चंगा ल्याएर बेच्न थालेको उनको पसलमा अहिले २० लाख बराबरको सामान छ। व्यापारसँगै आफ्नो संस्कृति बचाउन पनि चंगा बेचेको उनी सुनाउँछन्।

‘यो हाम्रो संस्कृति हो, भारतको भन्दा हाम्रो पुरानो इतिहास भेटिन्छ,’ उनले भने, ‘इन्द्रजात्रा सुरु हुने बेलामै चंगा उडाउन सुरु भएको भन्ने गरिन्छ, चंगा उडाएर इन्द्रलाई पानी पुग्यो भनेर मेसेज पुर्याउनुपर्छ भन्ने गरिन्थ्यो।’

पाँच वर्षसम्म उनले होलसेलबाटै चंगा ल्याएर व्यापार गरे। त्यसपछि भारतबाट नै आयात गरेर बेच्न थाले। उनले भारतको लखनउ, बरेली, कलकत्ता र अहमदाबादबाट चंगा आयात गर्छन्। सिजनको बेला विहानदेखि रातिसम्म नै खुल्ने उनको पसल अन्य समय बन्द हुन्छ।

‘यसपाली मौसमको कारणले गर्दा अलि ढिला सुरु भयो,’ साउनदेखि दशैंको पूर्णिमासम्म पसल खुल्ने गरेको जानकारी दिँदै उनले भने, ‘नत्र अरु बेला त घटस्थापनाको १५/२० दिन अघिदेखिनै व्यापार सुरु हुन्छ।’

गत वर्षको व्यापारसँग तुलना गर्न नचाहे पनि उनले पानीका कारण यसपाली व्यापार कम भएको बताउँछन्।

उनले भने, ‘पानी रोकिएपछि चाहिँ अलि हो कि हो कि जस्तो भएको छ, तर पनि पहिला जस्तो चाहिँ छैन, पोहोरका वर्षहरूसँग त तुनर्ल गर्न मिल्दैन।’

केही वर्षअघिसम्म साउन÷भदौ महिनामै आकाशमा चंगा देखिने गरेको स्मरण गर्दै उनले त्यतिबेला दशैंसम्म आधाभन्दा बढी चंगा बेचिसक्ने अनुभव सुनाए। अहिले पनि वर्षमा एकपटक उनी आफैँ चंगा उडाउँछन्।

‘अहिले पनि वर्षमा एकचोटी चाहिँ म पनि चंगा उडाउँछु,’ उनले भने, ‘हाम्रो घरबाट त सम्भव छैन, छिमेकीको घरबाट उडाउँछु।’

चंगाभन्दा धागो महंगो
गतवर्ष भन्दा यसपटक चंगाको मूल्यमा भन्दा पनि धागोको मूल्यमा एकदमै धेरै वृद्धि भएको उनले सुनाए। अहिले उनको पसलमा १० रूपैयाँदेखि १ सय रूपैयाँसम्मको चंगा छ। यो मूल्य तीन वर्षदेखि एउटै हो।

तर, धागोको मूल्य भने एकदमै सस्तो पाँच सय रूपैयाँसम्म पर्ने उनले बताए। उनीसँग अहिले पाँच स रूपैयाँदेखि २२ सय रूपैयाँसम्मको धागो छ। आठ वर्षअघि चंगाको अभाव भएपछि अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको उनी सम्झन्छन्।

उनले भने, ‘नेपालमा चंगाको मूल्य बढेको त्यहिबेला देखि हो, नभए अहिले १५ रूपैयाँ पर्ने चंगा त्यसबेला २ रूपैयाँमा पाइथ्यो, त्यो बेलाचाहिँ इन्डियाले पनि त्यहि अनुसारले च्यापेर ल्यायो के !’

काठमाडौंमा चंगा नउड्नुमा कारक पछिल्लो समय बनेका ठूला र अग्ला घरहरू भएको उनले महसुस गरेका छन्। बच्चाहरू मोबाइलमा व्यस्त हुँदा पनि चंगा नउडाएको भन्ने तर्कमा उनी सहमत छैनन्। मुख्य त शहरमा बनेका ठूला संरचना नै चंगा उड्नुको बाधक रहेको उनी बताउँछन्।

‘बास्केटबल कोच’
३६ वर्षका विपिनले प्लस टुपछि आफ्नो पढाइलाई अघि बढाएनन्। बरु बास्केटबल तिर रमाउन थाले। क्लबहरूसँग आबद्ध भए विभिन्न प्रतियोगितामा समेत सहभागी भएका उनी अहिले भने विभिन्न विद्यालयमा बास्केटबल प्रशिक्षण गर्छन्।

चंगाको सिजनबाहेक अरु समय उनलाई बास्केटबलको कोर्टमै भेटिन्छ। एक समय होटल लाइमा पनि छिरे तर धेरै समय टिक्न सकेनन्। पसल चाहिँ उनको रहरले खोलेका हुन्। अहिले त्यसमै रमाइरहेका छन्।

‘रहर लागेर खोलेको पसल हो,’ उनले भने, ‘त्यहि भएर इन्जोयनै गरिरहेको छु।’ 

चंगाको व्यापार राम्रो नहुँदा उनी किरा नलाग्ने औषधि हालेर राख्छन्। त्यसरी नराख्दा किराले खाने र घाटा लागेको उनको अनुभव छ। पोहोर मात्रै तीन लाख रूपैयाँ घाटा लाग्यो।

‘पोहोर साल पनि मौसमको कारण चंगा ड्यामेज भयो, किराको औषधि हालेर पनि काम लागेन,’ उनले भने, ‘धागो बाहेक चंगाको मात्र कुरा गर्नु पर्दा तीन लाख भन्दा बढी घाटा भयो।’

तीन वर्ष अघि मात्र उनको विवाह भयो। अहिले उनी संयुक्त परिवारमा बस्छन्। केहि वर्षअघि मात्रै धागो बेर्ने मेसिन पनि किनेका छन्। एक दुई वर्ष अझै पनि यसैमा काम गर्ने भन्दै ‘होम प्रोडक्सन’ नै गर्ने योजना पनि छ।

योजना अनुसार काम नभए उनी पूरै समय बास्केटबललाई दिने सोचमा छन्। भर्खरै सार्वजनिक भएको राष्ट्रिय बास्केटबलको टिममा आफ्नो एक जना विद्यार्थीको नाम पनि आएकोमा उनी दङ्ग छन्।

१० असोज, २०७९, १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।