जसको गोजीमा दाम छैन, उसलाई दशैं आए पनि काम छैन

जसको गोजीमा दाम छैन, उसलाई दशैं आए पनि काम छैन

काठमाडौं : घटस्थापना गरेसँगै आजबाट दशैं मान्नेहरूको घरमा उत्साह पनि प्रवेश गरिसकेको छ। आज राखेकै जमरा टीकाको दिनमा देवी दुर्गाको आशिर्वाद बनेर सबैको शीरमा लाग्नेछ। कोरोनाको निरन्तर कहरले खल्लो बनाउँदै आएको यो पर्व यसपालि डेंगुको चपेटामा परेको छ।

अनि बजारमा आर्थिक मन्दीको प्रहार। शहर-बजारमा भिडभाड नहुने कुरै भएन। तर, जुन रूपमा भिडभाड छ, व्यापार त्यति उत्साहजनक छैन। अधिकांश ग्राहकहरू हेर्ने र फर्कने गरिरहेको देखिन्थ्यो असन अनि इन्द्रचोकको बजारमा।

कोरोनाको प्रहारले दैनिकी मात्र खलबल्याएको छैन, उपभोक्ताको आर्थिक सामर्थ्यमा पनि उस्तै बलियो प्रहार भएको छ। त्यसको प्रभाव बजारमा पर्ने नै भयो। खानपिन त नभई नहुने सूचीमा परिहाल्यो। तर, चाडबाडमा नयाँ लुगा लगाउने प्रचलन भने यस पटक धेरेको पूरा हुने देखिएन बजारको अवस्था हेर्दा।

दशैंमा भाका हालिने' दशैं आयो, खाउँला पिउँला' मा 'कहाँ पाउँला' भने जस्तै अवस्था देखिन्छ बजार हेर्दा। व्यापारीहरूको अनुहार मलिन छ। ग्राहकहरू पसलमा छिर्दा उनीहरूको अनुहार अलिकति उज्यालो हुन खोज्छ। तर, ग्राहकहरू फरक्क फर्कन्छन्। सायद मनमनै चर्चित गीतको लाइन गुनगुनाउँदै।

'गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन।'

१० असोज, २०७९, १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।