ओलीका विश्वास पात्र र देउवाका आलोचकबीच २३ वर्षदेखि प्रतिस्पर्धा, यसपाली कसको पल्ला भारी ?

ओलीका विश्वास पात्र र देउवाका आलोचकबीच २३ वर्षदेखि प्रतिस्पर्धा, यसपाली कसको पल्ला भारी ?

बुटवलः एमाले अध्यक्ष केपी ओलीका विश्वास प्रदीप ज्ञवाली र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका आलोचक चन्द्र भण्डारी मंसिर ४ मा हुने निर्वाचनमा आमनेसामने हुँदैछन्।

गठबन्धनबाट भण्डारीको टुंगो अझै नलागेको भए पनि भण्डारी गुल्मी–१ बाट निर्विकल्प उम्मेदवार बन्ने निश्चित जस्तै छ। एमालेका ज्ञवालीको त एकल सिफारिस भइसकेको छ। ज्ञवाली र भण्डारीबीच २३ वर्षदेखि चुनावी प्रतिस्पर्धा हुँदै आएको छ।

यसबीचमा उनीहरू चार पटक चुनावी प्रतिस्पर्धी हुँदा ज्ञवालीले ३ पटक बाजी मारे भने भण्डारीले एक पटकमा चित्त बुझाउनुपरेको इतिहास छ। ४ मंसिरमा हुने पाँचौं प्रतिस्पर्धाबाट के नतिजा आउँला? आम नागरिकमा चासो छ।

गुल्मीको विकासमा ज्ञवाली र भण्डारी पर्यायवाची जस्तै हुन्। दुवैले जिल्लाको विकासमा लबिङ मात्र गरेनन्। ठूला योजनाको सार्थक पहल गरेर निर्माण समेत सम्पन्न गरेका छन्। त्यसो त ज्ञवाली र भण्डारी जिल्लाका लागि दुवै विजयी हुनुपर्ने नेता भए पनि त्यो अवसर भने दुवैले अहिलेसम्म पाएका छैनन्।

राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने ल्याकत कांग्रेस नेता चन्द्र भण्डारीसँग छ। भारतले नेपालमा नाकाबन्दी लगाएको समयमा भण्डारीले रूपन्देहीमा भएको एउटा सार्वजनिक कार्यक्रममा ‘राष्टवादको पाठ केपी ओलीबाट सिक्नुपर्छ’ भनेका थिए। यहि अभिव्यक्ति राष्ट्रव्यापी भएपछि पार्टीभित्र उनको चर्को आलोचनासमेत भएको थियो।

पार्टीभित्र समेत खुलेर बोल्ने भण्डारीको कार्यशैली धेरैले राम्रो मान्छन्। तर, त्यहि कार्यशैलीले पार्टीभित्र राम्रो ‘स्पेश पाउन’ सकेका छैनन् भने मन्त्रिपरिषद्मा पनि भण्डारी अहिलेसम्म अटाएका छैनन्। कांग्रेस उपसभापतिका प्रत्यासी समेत रहेका भण्डारी पदाधिकारीमा पराजित हुन पुगे।

पदाधिकारीमा हारेका अन्य अधिकांश नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरे पनि भण्डारी त्यो सूचीमा परेनन्। संस्थापनइतर खेमामा रहेकाले केन्द्रीय सदस्यमा मनोनित नभए पनि गुल्मीमा भने भण्डारीको आफ्नै प्रभाव छ।

पार्टीभित्र पनि राम्रो प्रभाव जमाउँदै बौद्धिक नेताको छवि बनाएका प्रदीप ज्ञवालीको शान पनि निर्वाचन क्षेत्रमा उत्तिकै छ। शान्त स्वभाव र नरम बोल्ने शैलीका उनीमाथि संसद् विघटनको सन्दर्भमा ओलीविरुद्ध नबोलेको आरोप लाग्ने गरेको छ। राष्ट्रिय राजनीतिमा पकड जमाए पनि जिल्लाका लागि कम समय दिएको आरोप भने उनलाई लाग्ने गरेको छ।

तर, समर्थकहरू भने ज्ञवालीकै योजना र भिजनले गुल्मी–१ बनेको दाबी गर्छन्। जिल्लामा कम समय दिएको केही स्वीकार गरे पनि विकासमा ज्ञवालीलाई रोलमोडलको रूपमा लिनुपर्ने एक नेताको भनाइ छ।

भनिन्छ राजनीति फोहोरी खेल हो। तर यो फोहोरी खेल यी दुवैले खेल्दैनन्। निर्वाचन प्रचारका क्रममा होस वा विजयीको उत्सव यी दुवैले आफ्नो सादगी देखाउने गरेका यसअघिका उदाहरण छन्। दुवैबीच मित्रवत् सम्बन्ध छ।

दुवैका चुनावी मुद्दा एउटै, क्षेत्र एउटै पार्टी भने फरक। गुल्मीको विकास मात्र यी दुवैले सोच्ने भएकाले पनि धेरै गुल्मेलीले यी दुवै जना गुल्मीबाट संसदमा प्रतिनिधित्व होस् भन्ने चाहन्छन्। तर, राजनितीले गर्दा कुनै एकको मात्र ढोका खुल्छ।

कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी भण्डारी र ज्ञवालीको प्रतिस्पर्धा निकै सौहार्द ढंगले हुने गरेको बताउँछन्। दुवै नेताको छवि राम्रो भएकाले उनीहरूबीचको प्रतिस्पर्धामा धेरैले चासो राख्नु स्वभाविक भएको उनको भनाइ छ।

निर्वाचनमा हार, जित निश्चित हुन्छ भन्ने दुवैले बुझेका छन्। निर्वाचन पछि आउने मतपरिणामलाई सहर्ष स्वीकार गर्ने र सफलताको शुभकामना यी दुवैले दिन्छन्। २०७० मा ज्ञवालीले हार स्वीकार गर्दै भण्डारीलाई बधाई दिएका थिए भने २०७४ मा भण्डारीले पनि हारलाई सहज रूपमा लिँदै ज्ञवालीलाई अबिर लगाएर बधाई दिएका थिए। 

कसकाे पल्ला भारी?
गठबन्धन गरेरै निर्वाचनमा जाने निर्णय भएपछि यस पटकको निर्वाचनमा भण्डारी केही ढुक्क देखिएका छन्। ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामले पनि भण्डारी केही ढुक्क हुने अवस्था देखिएको हो।

०७४ सालको तुलनामा एमालेले गुल्मीका धैरै स्थानीय तह गुमाएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गुल्मीमा नेपाली कांग्रेसले ५, माओवादी केन्द्रले ४ स्थान जित्दा एमाले ३ स्थानमा खुम्चियो।

क्षेत्र नं. १ मा पर्ने रुरुक्षेत्र गाउँपालिकामा यस पटक माओवादीले जितेको छ। यता भण्डारीको पालिका छत्रकोटमा कांग्रेस पराजित भएको छ। स्मरण रहोस्, यस क्षेत्रमा ०७४ सालको निर्वाचनमा पनि एमाले विजयी भएको थियो।

०७४ को निर्वाचनमा कांग्रेसको किल्ला तोड्दै रेसुङ्गा नगरपालिकामा एमाले विजयी भयो। त्यो बेला एमाले अध्यक्ष केपी शर्मा ओली विजयी उत्सव मनाउन तम्घास पुगेका थिए। तर, ५ वर्षपछि रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ। 

कांग्रेसका जिल्ला सभापतिसमेत रहेका खिलध्वज पन्थी रेसुङ्गाको मेयर निर्वाचित हुनु भण्डारीका लागि सबल पक्ष हो। भण्डारीले गुल्मीको निर्वाचन क्षेत्र छाड्ने अवस्थामा चन्द्र केसी गुल्मी–१ बाट कांग्रेसको उम्मेदवार बन्न सक्नेछन्।

कुन समय कसले जिते ?
२०५६ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच पहिलो प्रतिस्पर्धा हुँदा ज्ञवालीले जितेका थिए। २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा पनि ज्ञवाली निर्वाचित भए। २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा ज्ञवाली पराजित भए, भण्डारीले जिते।

निर्वाचन क्षेत्र पुनःसंरचनापछि २०७४ को निर्वाचनमा पनि ज्ञवाली विजयी भए। अब ४ मंसिरमा हुने निर्वाचनमा कसले बाजी मार्ला त्यो समयले नै देखाउला।

१० असोज, २०७९, १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।