नौ वर्षपछि भारतले आफ्नै भूमिमा अष्ट्रेलियाविरुद्धको टी ट्वेन्टी श्रृङ्खला जित्यो

नौ वर्षपछि भारतले आफ्नै भूमिमा अष्ट्रेलियाविरुद्धको टी ट्वेन्टी श्रृङ्खला जित्यो

एजेन्सी: अष्ट्रेलियाविरुद्धको तीन खेलको टी ट्वेन्टी श्रृङ्खलामा अन्तिम खेल जित्दै भारतले उपाधि हात पारेको छ। निर्णायक खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएपछि श्रृङ्खलामा भारतले २-१ को विजय प्राप्त गरेको हो।

र योसँगै भारतले नौ वर्षपछि घरेलु मैदानमा टी ट्वेन्टी श्रृङ्खलामा अष्ट्रेलियालाई पराजित गरेको छ। सन् २०१३ मा भारतले एक खेलको श्रृङ्खला खेल्दा अष्ट्रेलियालाई जितेको थियो। त्यसपछि सन् २०१७-२०१८ मा श्रृङ्खला १-१ को बराबरीमा टुङ्गिएको थियो। २०१८-२०१९ मा अष्ट्रेलियाले २-० को जित हात पारेको थियो।

हिजोको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो। अष्ट्रेलियाका लागि टिम डेभिडले ५४ र क्यामरून ग्रीनले ५२ रनको अर्धशतकीय पारी खेले।

बलिङतर्फ भारतका लागि अक्षर पटेलले तीन विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य हासिल गर्यो।

भारतका लागि सूर्यकुमार यादवले ३६ बलमा ६९ रन बनाए। विराट कोहलीले आफ्नो क्लास देखाउँदै ६३ रन बनाए।

अक्टोबरमा हुन गइरहेको टी ट्वेन्टी विश्वकपअघि यो श्रृङ्खलालाई महत्त्वपूर्ण तयारीका साथ लिइएको थियो।

१० असोज, २०७९, ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।