वारेन्टपछि फरार सन्दीपको दाबी' मानसिक रूपमा विक्षिप्त भएर उपचारमा छु'

वारेन्टपछि फरार सन्दीपको दाबी' मानसिक रूपमा विक्षिप्त भएर उपचारमा छु'

काठमाडौँ : नेपाल फर्किएर अनुसन्धानलाई सघाउने भन्ने एकाएक सम्पर्कहीन भएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले भूमिगत रूपमै सामाजिक सञ्जाल फेसबुकमा सन्देश राख्दै चाँडै नेपाल फर्कने दाबी गरेका छन्।

नेपाल आउँछु भनेर एकाएक गायब भएपछि प्रहरीले उनको नाममा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गराउने तयारी गरिरहेको बेला उनले आइतबार बेलुका आफ्नो फेसबुक अकाउन्टमा सन्देश राखेका हुन्।

उनले आफू कहाँ रहेको भन्ने खुलाएका छैनन्। उनले आफ्नो नाममा वारेन्ट जारी भएको समाचार र जाहेरी  सार्वजनिक भएपछि आफूलाई मानसिक रूपमा विक्षिप्त बनाएको र के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था नरहेको उनले दाबी गरेका छन्।

उनले असन्तुलित अवस्थामा पुगेकाले डाक्टरहरूको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको स्वास्थ्यमा क्रमिक सुधार आउँदै गरेको दाबी गर्दै उनले जतिसक्दो चाँडो नेपाल फर्किएर आफू विरुद्धको उजुरीको प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको दाबी गरेका छन्।

उनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन आफ्नो पनि भूमिका रहेको भन्दै राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको आफू इमानदार क्रिकेट खेलाडी रहेको र गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको दाबी गरेका छन्।

उनले आफ्नो अनुपस्थितिमा परेको जाहेरीको कानुनी लडाई लड्ने दाबी गर्दै नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हक रहेको उल्लेख गरेका छन्।

उनले चाँडै नेपाल फर्कने दाबी गरे पनि कहिले फर्कने भन्ने खुलाएका छैनन्। 

सन्दीप विरुद्ध एक नाबालिकाले भेट्न गएको बेलामा होटेलमा लगेर बलात्कार गरेको दाबी गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि सन्दीप नेपाल नआएपछि काठमाडौँ जिल्ला अदालतले उनको नाममा पक्राउ आदेश जारी गरिसकेको छ।

९ असोज, २०७९, २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।