देवदहकी उपमेयरमाथि कांग्रेसका वडाध्यक्षसँग मिलेर आफ्नै पार्टीका मेयरलाई असहयोग गरेको आरोप

देवदहकी उपमेयरमाथि कांग्रेसका वडाध्यक्षसँग मिलेर आफ्नै पार्टीका मेयरलाई असहयोग गरेको आरोप

बुटवल : देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेकै छन्। गठबन्धन दलको घेराबन्दी तोड्दै मेयरमा ध्रुवप्रसाद खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ विजयी भएका थिए। तर एकै पार्टीका भए पनि दुबैबिच सत्तापक्ष र प्रतिपक्षको जनप्रतिनिधि भन्दा पनि खराब सम्बन्ध देखिन्छ।

मेयरका पक्षकाहरु उपमेयरले मेयरलाई असफल बनाउन लागेको दाबी गरिरहेका छन् भने उपमेयर आफूले सहयोग नै गरिरहेको दाबी गर्छिन्।

‘मैले नगरप्रमुखलाई असहयोग गरे भनेको सुन्दा म नै अचम्ममा परे। यो नभएको हल्ला मात्र हो’उनले दाबी गरिन्।

बुटवल उपमहानगरपालिका सहित अन्य ४ नगरपालिकामध्ये देवदह मात्र त्यस्तो नगरपालिका हो, जहाँ मेयर, उपमेयर दुवै एमालेले जितेको थियो। अन्य नगरपालिकामा उपमेयर मात्र एमालेले जितेको छ।

तर मेयर निकटहरू भने उनले कांग्रेसका वडाध्यक्षहरूसँग मिलेर मेयरलाई घेराबन्दी गरिरहेको दाबी गर्छन्।

कार्यपालिका, नगर सभा दुवैमा एमालेको बहुमत भए पनि कांग्रेसका वडा अध्यक्षसँग मिलेर उपमेयर गुरुङले मेयर खरेलले ल्याएका योजनाको विपक्षी उभिने गरेको कार्यपालिका एक सदस्यले जानकारी दिए।

‘मेयरलाई असफल बनाउन गुरुङ लाग्नु भएको छ। कुनै योजनामा समर्थन गर्नुहुन्न। कांग्रेसकै वडा अध्यक्षहरूले गर्ने भूमिका जस्तो भयो उपमेयर गुरुङको भूमिका’ त्यी सदस्यले भने।

नगरपालिकाभित्र सुरु हुन लागेको नगर अस्पतालमा मेयर खरेललाई उनले असहयोग गरेको आरोप समेत लागेको छ। हरेक पालिकामा एउटा नगर अस्पताल बनाउने योजना अनुसार देवदह नगरपालिका ५ खैरेनीमा नगर अस्पताल निर्माणको क्रममा छ।

त्यहाँका वडा अध्यक्षहरूले साथ दिएका छन्। नयाँ भवनमा नगर अस्पताल छिटो सञ्चालन गर्ने उद्देश्य अनुसार देवदह नगरपालिकाले ठेकेदारलाई पटक–पटक पत्र काटे पनि ठेकेदारले कामको गति दिएका छैनन्।

उपमेयर गुरुङकै योजनामा ठेकेदारले समयमा काम नगरेको आरोप उनीमाथि छ। तर उपमेयर गुरुङ आफूले ठेकेदारलाई नचिन्ने र आरोप झुटो भएको बताइन्।

२०७७ असार २५ गते ओम सत्यसाई भिमज्योती जेभिले ६ करोडको लागतमा निर्माण सम्झौता गरेको उक्त भवनको हाल ३० प्रतिशत काम भएको छ। उक्त भवनको निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०८० असार ३४ गतेसम्म छ।

त्यस्तै उपमेयर गुरुङ अहिले आफ्नै कार्यकक्ष ठुलो बनाउन लागेकी छिन्। ५ वर्ष सम्म त्यही कार्यकक्षबाट कार्य सम्पादन गरेकी उनले नगरप्रमुख बराबर आफ्नो ‘हैसियत’ हुनुपर्ने भन्दै कार्यकक्ष तोडेर ठुलो बनाउन लागेकी हुन्।

त्यति मात्र होइन, अहिले उनले आफ्नो सचिवालय समेत बनाएकी छिन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भए पनि गुरुङले आफ्नो सचिवालय गठन गरेकी थिइनन्।

त्यो बेला कांग्रेसबाट मेयरमा हिरा बहादुर खत्रीले जितेका थिए। यति सम्मकी देवदह क्षेत्र नं. १ का सङ्घीय सांसद एमाले नेता छविलाल विश्वकर्माले अघि सारेका योजनामा पनि गुरुङले असहयोग गरेको एमाले नेताहरू नै आरोप लगाउँछन्।

देवदह वडा नं. ९ घोडाह–बङ्गाली जोड्ने पुलको नेता विश्वकर्माले पहल गरे पनि उपमेयर गुरुङले चासो नदिँदा डिपीआर भइसकेको योजना बन्न नसकेको उनीहरूको आरोप छ। १२ वटा वडा रहेको देवदहमा ५ वडामा एमाले विजयी भएको छ भने ६ वटा वडामा कांग्रेस विजयी भएको छ। एउटा वडा राप्रपाले जितेको छ।

उपमेयर गुरुङले आफूले मेयरलाई सहयोग नै गरेको बताइन्। मेयर र उपमेयरको योजना भनेकै देवदहलाई समृद्ध बनाउने भएकाले दुवैको निर्णय, सहमति अनुसार योजनाहरू छनोट हुने र कार्यान्वयनमा चरणमा जाने गरेको उनले बताए।

यता कार्यकक्ष विस्तार सन्दर्भमा गुरुङले सचिवालय निर्माण भएपछि नगरपालिकाले नै भवनले कार्यकक्ष विस्तार गरेको बताइन्।

‘५ वर्ष म आफै त्यही कार्यकक्षमा बसे । मलाई चाहिँदैन भनेपछि नगरपालिकाले नै कार्यकक्षको विस्तार गरेको हो। त्यहाँ मेरो मात्र होइन सबैको कार्यकक्ष विस्तार गरिएको छ’ उनले भनिन्।

९ असोज, २०७९, २२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।