१४ लाखको खानेपानीको पाइप चोरी गर्दागर्दै पक्राउ परे मादीका वडा सदस्य

१४ लाखको खानेपानीको पाइप चोरी गर्दागर्दै पक्राउ परे मादीका वडा सदस्य

पोखरा : कास्कीको मादी गाउँपालिकामा खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा एक  जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन्।

खानेपानीको पाइप चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार पोखराबाट खटिएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरेर मादी गाउँपालिका–५ तर्फ ल्याउँदै गरेको अवस्थामा मादी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य खरजंग गुरुङसहित ४ जनालाई पक्राउ गरेको हो।

स्थानीयलाई खानेपानी पुर्याउन ४० वर्ष अघि सुरु भएको थाक खानेपानी आयोजनाको करिब १४ लाख बराबरको पाइप चोरी भएको अनुमान गरिएको  छ।

गुरुङ कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए। हाल उनी वाइसिएल मादी गाउँपालिका उपाध्यक्ष हुन्। उनी माओवादी कार्यकर्ता भए पनि निर्वाचनको बेला कांग्रेसको रुख चिन्ह लिएर निर्वाचित भएका थिए।

खानेपानीको पाइप चोरी गरेको आरोपमा मादी–७ थाक बस्ने वर्ष ३५ को रमेश गुरुङ, वर्ष २६ को नीरज तामाङ, मादी–७ घर भई हाल पोखरा–१० बस्ने वर्ष ३४ को खरजंग गुरुङ र लमजुङ मध्य नेपाल –८ स्थायी घर भई हाल पोखरा–१३ बस्ने वर्ष २३ को सुनिल परियार पक्राउ परेका थिए।

उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले बताए ।

वडा सदस्य गुरुङसहितका चार जनालाई असोज ५ गते राति १२ बजे पक्राउ गरिएको डिएसपी तिवारीले बताए।

 

९ असोज, २०७९, २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।