जग्गा विवादले १७ वर्षमा पनि बनेन वीरेन्द्रनगरको २९ किलोमिटर चक्रपथ

जग्गा विवादले १७ वर्षमा पनि बनेन वीरेन्द्रनगरको २९ किलोमिटर चक्रपथ

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा निर्माणाधीन चक्रपथ (रिङरोड)को काम डेढ दशकभन्दा लामो समयदेखि पनि पूरा हुन सकेको छैन। वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले २०६२ सालबाट निर्माण सुरु गरिएको चक्रपथको काम अझै अधुरो छ।

सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने चक्रपथ करिब २९ किलोमिटर लामो छ। जसमध्ये हालसम्म २२ किलोमिटर मात्रै काम भएको छ। 

चक्रपथअन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुँदा बेला बेला विवाद हुँदै आएको छ। अरू त अरू चक्रपथको सुरुको विन्दु सुब्बाकुनामै व्यक्तिको घरजग्गा परेका कारण सो ठाउँमा काम हुन सकेको छैन्। वडा नम्बर १, २, ८ र १२ को क्षेत्रमा पनि व्यक्तिगत घर, जग्गा पर्ने हुदाँ विवाद सुल्झिन सकेको छैन।

‘हामी जग्गा नदिने भनेका छैनौँ, तर हामीलाई उठिबास लगाएर विकास गर्नुभन्दा पनि क्षतिअनुसार सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने हाम्रो माग हो।’

यता स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै आयोजनामा अवरोध गर्दै आएका छन्।

‘जनताका लागि विकास हो भने सही तरिकाले विकास हुनुपर्यो। विकासका नाममा उठिबास त लगाउनु भएन नि’, वीरेन्द्रनगर–२ की अमृता कार्कीले भनिन्, ‘हामी जग्गा नदिने भनेका छैनौँ, तर हामीलाई उठिबास लगाएर विकास गर्नुभन्दा पनि क्षतिअनुसार सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने हाम्रो माग हो।’

चक्रपथअन्तर्गत संरक्षित वन क्षेत्र र व्यक्तिगत घरजग्गा परेकै कारण अझै ४० प्रतिशत काम हुन बाँकी छ। निर्माण भएको सडकमध्ये पनि करिब दुई किलोमिटर कालोपत्रे हुन बाँकी छ।

निर्माणाधिन चक्रपथ हेरिरहेको रुकुम–पश्चिम चौरजहारी सडक डिभिजन कार्यालयले भने ६० प्रतिशत काम सकिएको जनाएको छ। विवाद नभएको क्षेत्रमा धमाधम काम भए पनि जग्गा विवाद रहेको ठाउँमा काम बाँकी रहेको कार्यालयका इन्जिनियर सुरेश बस्यालले जानकारी दिए।

१३ करोड बजेटमा निर्माण सम्झौता हुँदा चक्रपथ १५ मिटर चौडा हुने उल्लेख थियो। तर, जग्गा अभावकै कारण ११ मिटरमा मात्रै सडकको काम भइरहेको छ।

‘विवाद नभएको ठाउँहरूमा त काम सकिसकेको छ। केही ठाउँहरूमा जग्गा र संरक्षित वन क्षेत्रको विवादले काम रोकिएको छ’, उनले भने, ‘जग्गा र वनको विवाद नभएका ठाउँहरूमा करिब ६० प्रतिशत काम सकिएको छ।’

निर्माण कम्पनी र कार्यालयले समय सीमाभित्रै काम सक्नेगरी लागे पनि विवादका कारण कठिनाइ भएको उनको भनाइ छ।

१५ मिटर बनाउने सम्झौता ११ मिटरमा मात्र काम
चार वर्षभित्र सक्नेगरी चक्रपथ निर्माणको सम्झौता भएकोमा पटक–पटक म्याद थप भइरहेको छ। पछिल्लो पटक म्याद थप भएअनुसार २०७८ चैत मसान्तभित्र निर्माण कार्य पूरा गर्नुपर्ने सम्झौता थियो। 

तर, अवरोध कायमै रहेकोले काम सकिने कुनै टुङ्गो छैन।

संघीय सरकारले निर्माण थालेको चक्रपथको काम अहिले प्रदेश सरकार मातहत छ। १३ करोड बजेटमा निर्माण सम्झौता हुँदा चक्रपथ १५ मिटर चौडा हुने उल्लेख थियो। तर, जग्गा अभावकै कारण ११ मिटरमा मात्रै सडकको काम भइरहेको छ। पर्याप्त जग्गा उपलब्ध नहुँदा सडकको चौडाइ घटेको सडक डिभिजन कार्यालयले जनाएको छ।

यता, वीरेन्द्रनगर नगरपालिकाले अब छिटै विवाद समाधान भएर काम अघि बढ्ने जनाएको छ। सरोकारवालाबीच विवाद समाधानका लागि छलफल भइरहेकोले यो समस्या केही समयमा नै समाधान हुने वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले बताइन्।

‘समस्या समाधानका लागि सम्बन्धित व्यक्ति र निकायहरूबीच विभिन्न चरणमा छलफल भइरहेको छ’, उनले भनिन्, ‘वीरेन्द्रनगरको गौरवको रूपमा रहेको चक्रपथको कामलाई प्रदेश र संघीय सरकारले पनि प्राथमिकतामा राखेको हुँदा अब छिटै काम अघि बढ्छ।’

प्रभावित नागरिकलाई मर्का नपर्नेगरी सहमतिबाटै चक्रपथको काम अघि बढ्ने उनको भनाइ छ। 

९ असोज, २०७९, ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।