तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ८८ पुगेपछि नियन्त्रण गर्न उच्च प्राथमिकता

तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ८८ पुगेपछि नियन्त्रण गर्न उच्च प्राथमिकता

तनहुँ: जिल्लामा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेपछि यतिबेला सङ्क्रमण नियन्त्रण गर्न उच्च प्राथमिकता दिइएको छ।सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षणअनुसार ८८ जनामा हालसम्म डेङ्गु पुष्टि भएको हो।

दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा भर्ना भएर उपचार गराउने तीन जनामध्ये एक जना उपचारपश्चात घर फर्किएका छन् दुई जनाको उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख डा राजु रानाले जानकारी दिए। बन्दीपुर अस्पतालमा भर्ना भएर सात जनाको उपचार गरिएकामा चार जना उपचारपश्चात घर फर्किएका छन्। जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनालाई डेङ्गु पुष्टि भएकामा २७ जना भर्ना भएर उपचार गराएका थिए।

उपचाररत २७ जना नै उपचारपश्चात घर फर्किसकेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।

हाल डेङ्गु परीक्षणका लागि स्वास्थ्य कार्यालयमा किट अभाव रहेको छ। स्थानीय तह र अस्पतालले नै किट खरिद गरेर परीक्षण गर्ने गरेकाले सहज भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए।

यसबीच जिल्लामा डेङ्गु नियन्त्रण गर्न स्थानीय तहले उच्च प्राथमिकता दिएका छन्। सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ। यस्तै मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फाल्नुका साथै सचेतना प्रदान गरेको छ।

आँबुखैरेनी गाउँपालिकाले पनि डेङ्गुबाट बच्नका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ। डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ।

९ असोज, २०७९, ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।