‘दश बिरामी जाँच्दा तीन जनामा डेंगु संक्रमण देखियो’

‘दश बिरामी जाँच्दा तीन जनामा डेंगु संक्रमण देखियो’

काठमाडौंः नेपालमा फैलिएको डेंगु तत्काल नियन्त्रण गर्न चिकित्सकहरूले आग्रह गरेका छन्।

हरेक अस्पताल शय्याहरू डेंगुका बिरामीले भरिएको भन्दै उनीहरूले डेंगु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।

शनिबार काठमाडौंमा भएको साक्षात्कारमा डा. सुन्दरमणि दीक्षितले डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने धुवाँको प्रयोग गर्नुपर्ने बताए।

डेङ्गु नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै उनले स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय र स्थानीय निकाय गम्भीरताका साथ खटिनुपर्नेमा जोड दिए।

डेंगु प्रकोपले पछिल्लो समय कडा रूप लिँदै गएको भन्दै डा.दीक्षितले आफूले प्रत्येक दिन जाँच गर्ने १० बिरामीमध्ये तीन जनामा डेंगु संक्रमित हुने गरेको बताए।

स्वास्थ्य मन्त्रालयले लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सञ्चालन गरेको भए यस्तो अवस्था नआउने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

एकै परिवारका सदस्य पालैपालो अस्पताल पुग्ने गरेको स्मरण गराउँदै डेंगु प्रकोपले भयावह रूप लिइसकेको उनले जानकारी गराए।

सरकारले  डेंगु नियन्त्रणका लागि सञ्चालन गरेको अभियान प्रभावकारी भएको भन्दै लामखुट्टेको लार्भालाई खोजेर नष्ट गरेमा एडल्ट लामखुट्टे नियन्त्रण गर्न सकिने सरुवा रोग विशेषज्ञ डा. गरिबदास ठाकुरले बताए।

८ असोज, २०७९, २२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।