सरकार र डा. केसीबीच सहमति, अनशन तोडियो (सम्झौतापत्रसहित)

सरकार र डा. केसीबीच सहमति, अनशन तोडियो (सम्झौतापत्रसहित)

काठमाडौंः सरकार र १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले अनशन तोडेको उनको सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेश गर्ने समेत सम्झौता भएको छ।

केसीका मागमध्ये धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन।

पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए। विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २०औं सत्याग्रह सुरु गरेका थिए।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा वार्ता टोली बनाएको थियो।

धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेको चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो।

अस्पतालले स्वास्थ्य बिग्रँदै गएपछि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि डा. केसी अनशनकै १०औं दिनमा काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

८ असोज, २०७९, २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।