सरकारको सहुलियत पसलमै छैन चिनी, उपभोक्तालाई ‘सरी!’ भन्दै फर्काउँदै

सरकारको सहुलियत पसलमै छैन चिनी, उपभोक्तालाई ‘सरी!’ भन्दै फर्काउँदै

काठमाडौंः सरकारले चाडपर्वलाई लक्षित गरी देशभर विभिन्न स्थानमा सञ्चालन गरेको सहुलियत पसलमा चिनीको अभाव छ।

माघ देखि नै माग गरिए पनि अहिलेसम्म नआएकाले चाडपर्वमा चिनीको अभाव भएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड(एसटीसी)ले जनाएको छ। एसटीसीका अनुसार चिनी अभावले पसलमा सर्वसाधारणको उपस्थिति कम छ।

असोज १ गतेदेखि सरकारले सञ्चालन गरेको कुनै पनि सहुलियत पसलमा चिनी छैन। उपभोक्ताले चिनी खोजे ‘सरी!’ भनेर पठाउनुपरेको सीटीसीका विभागीय प्रबन्धक बज्रेशकुमार झा बताउँछन्।

‘चिनी नभएपछि पोहोरको जस्तो चहलपहल छैन,’ उनले भने, ‘चाडबाडमा माग बढ्ने भएकाले हामीले गतवर्ष माघमै सरकारलाई जानकारी गराएका थियौं।’

बजारमा चिनीको माग २ लाख पचास हजार मेट्रिक टनको छ। चाडबाडको दुई महिनामा मात्र करिब ५५ देखि ६० हजार मेट्रिक टनको माग हुने झाले बताए।

विगतका वर्षमा एसटीसीसँग समन्वय गरेर चिनी बेच्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)सँग पनि यसपाली चिनी छैन। अरु सामग्री पर्याप्त भए पनि चिनी भएको खाद्य व्यवस्थाका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

‘हामी आफैँले चिनी ल्याएर अहिलेसम्म बेचेका छैनौं, एसटीसीसँग समन्व गरेर मात्र बेचेका हौं,’ उनले भनिन्, ‘तर, यसपाली त्यहाँ पनि आएको छैन, चिनीको माग गर्ने उपभोक्तालाई ‘सरी!’ नै भनेर पठाउनुपरेको छ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा चाडबाडलाई लक्षित गरेर सहुलियत पसल सञ्चालनका साथै बजार अनुगमन गर्ने विषयमा भदौ २२ गते बैठक बसे पनि चिनीको विषयले प्राथमिकता पाएन।

भारतले जुन १ देखि आन्तरिक खपतका लागि चाहिने भन्दै विदेशी मुलुकमा चिनी निर्यात बन्द गरेपछि नेपालमा चिनी अभाव भएको हो। भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक हो। नेपालले सबैभन्दा बढी चिनी भारतबाट नै आयात गर्ने गरेको थियाे।

चाडबाडमा चिनीको मूल्य बढ्नु नयाँ कुरा होइन। गत वर्ष पनि मौज्दात सकिएको र स्वदेशमा उत्पादनमा पनि कमी आएको भन्दै चिनीको मूल्य बढाइएको थियो। चिनीको खुद्रा मूल्य प्रतिकेजी ९० रूपैयाँ भए पनि बजारमा १२० रूपैयाँसम्म बिक्रि भइरहेको छ।

के गर्दैछन् एसटीसी र खाद्य संस्थान ?
विगतका वर्षमा झैं यसवर्ष पनि एसटीसीले देशभरका ९३ वटा कार्यालयमार्फत सहुलियत मूल्यको पसल राखेको छ। काठमाडौं उपत्यकामा सतुङ्गल, कालिमाटी, जावलाखेल, जडिबुटी र सुर्यविनायकमा पसल सञ्चालित छ।

अर्डरअनुसार ‘टोल–टोलमा एसटीसी’ भन्ने नारासहित तीन वटा मोबाइल भ्यान पनि सञ्चालन गरेको एसटीसीले आफ्ना सामग्रीहरू गुणस्तर रहेको दाबी गरेको छ। 

‘जसरी गोर्खाली भन्ने बित्तिकै बलियो, मसुर भन्छन् त्यस्तै एसटीसीको सामानमा पनि कुनै कम्प्रोमाइज हुँदैन,’ प्रबन्धक झाले भने, ‘एसटीसीको लोगो भएको सामान सब गुणस्तरीय छन्, नामै काफी छ भन्छन् नि त्यस्तै हो।’ 

उनका अनुसार एसटीसीले दशैंसम्म तोरीको तेल पनि ल्याउने बताए। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति प्राप्त गर्नेबित्तिकै तेल बजारमा पठाउने एसटीसीको तयारी छ।

एसटीसीसँग करिब ९ महिनालाई पुग्ने नुन मौज्दातमा रहेको झाले बताए।

२८ हजार क्विन्टल खाद्य सामग्री बेच्ने संस्थानको लक्ष्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि देशभरको ४१ जिल्लाको ४५ वटा स्थानमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिसकेको छ। जसमध्ये उपत्यकामा मात्र नख्खु, थापाथली, रामशाहपथ र सुर्यविनायकमा चार बिक्रि केन्द्र छन्।

यसपटक कम्पनीबाट अनलाइन सेवा प्रवाह सुरु भएको छ। काठमाडौं उपत्यकासहित, पोखरा र सुर्खेतमा विस्तार भएको सेवा आगामी दिनमा बढ्दै जाने कन्हरुमा बढ्दै जाने कम्पनीले जनाएको छ।

खाद्य सस्थानले सञ्चालन गर्ने खसी, बोका, च्यांग्रा बिक्रि वितरण भने फुलपाती आसपासमा मात्र  सञ्चालन गर्ने भएको छ। लामो समय जिउँदो खसी बोकाहरू राख्नु चुनौति हुने भएकाले बिक्री गर्ने समयमा मात्र भित्र्याउने योजनामा रहेको सूचना अधिकारी न्यौपानेले बताइन्।

उपभोक्ताको माग धान्न नसके पनि बजारमा मूल्य स्थिरीकरण गर्नु संस्थानको मुख्य उद्देश्य रहेको न्यौपानेले बताइन्। अन्तराष्ट्रिय बजारको प्रवाहले महंगी बढेको भन्दै आफूहरूको उपस्थिति बाक्लो बनाउनुपर्ने उनको भनाइ छ।

‘गतवर्ष २५ हजार क्विन्टल बेचेकाेमा यसपाली २८ हजार क्विन्टल खाद्य सामग्री बेच्ने लक्ष्य राखेका छौं,’ उनले भनिन्, ‘यसपाली पहिलाको भन्दा बढी छुटको व्यवस्था गरेको हुनाले त्यो लक्ष्य पूरा हुनेमा ढुक्क छौं।’

विगतमा आफ्नो सेवा सुविधाहरू सर्वसुलभ नभएको स्वीकार्दै केहि समयदेखि भने बिक्रि केन्द्रहरू बढाएर र अनलाइन सेवामा जोड दिएर यसको पहुँच विस्तार भएको उनले दाबी गरिन्।

के मा कति छुट ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ गते देखि कार्तिक २४ गते छठसम्म चामलमा प्रतिकेजी ५, सिमी र फापरमा प्रतिकेजी १० रूपैयाँ छुट दिइएको छ। नुनमा २ रूपैयाँ, खसी बोकामा प्रतिकेजी १० रूपैयाँ तथा दुग्ध विकास संस्थानबाट बिक्री वितरण हुने दुध, पनीर, घ्यूमा समेत छुटको व्यवस्था छ।

८ असोज, २०७९, १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।