गरिब, दलित र अपाङ्गता भएका परिवारहरूका लागि २४ घर निर्माण गर्दै शम्भुनाथ नगरपालिका

गरिब, दलित र अपाङ्गता भएका परिवारहरूका लागि २४ घर निर्माण गर्दै शम्भुनाथ नगरपालिका

काठमाडौं: सप्तरीको शम्भुनाथ नगरपालिकाले अतिविपन्न दलित, गरिब र अपाङ्गता भएका परिवारका लागि २४ घर निर्माण गर्ने भएको छ। नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडा नं २ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताए।

हाललाई तराई मधेश समृद्धि कार्यक्रम र वडा नम्बर २ ले विनियोजन गरेको बजेटबाट आवास निर्माण सुरु गरिएको जानकारी दिँदै उनले भने, “बाँकी अन्य लक्षित परिवारका लागि नगरपालिकाको बजेटबाट आवास निर्माणमा सहयोग गरिनेछ।”

नगरपालिकाका पाँच सय घरधुरीका लागि छानामा जस्तपाताको लागि शहरी विकास मन्त्रालयमा पहल भइरहेको पनि नगरप्रमुख गुप्ताले उल्लेख गरे। आवास निर्माण कार्यक्रमका लागि तराई मधेश समृद्धि कार्यक्रमको रु ४० लाख, वडा नं २ कार्यालयबाट रु १५ लाख र ह्याबिट्याट फर ह्युमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्रको रु ५५ लाख गरी कूल रु एक करोड १० लाख खर्च व्यहोरिएको छ।

दलितका लागि सामुदायिक आवास मोडेलको १४ घर र अतिविपन्न, गरिव, असहाय, असुरक्षित र अपाङ्गगता भएको १० परिवारका लागि हिल्टी मोडलको घर गरी २४ वटा घर निर्माण गरिने भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जनताको जीवनस्तर उकास्ने काममा सहयोगी संस्थासँग सहकार्य गरिने बताए।

८ असोज, २०७९, ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।