नेहा कक्कडले 'मैने पायल है खनकाई' गीत रिमिक्स गरिन्, फाल्गुनी पाठकलाई मन परेन

नेहा कक्कडले 'मैने पायल है खनकाई' गीत रिमिक्स गरिन्, फाल्गुनी पाठकलाई मन परेन

एजेन्सी: भारतीय संगीत क्षेत्रमा 'रिमिक्स क्विन' भनेर चिनिएकी नेहा कक्कडको आलोचना गर्ने र तारिफ गर्ने जमात बराबर जस्तै छ। उनले हालै आफ्नो नयाँ गीत 'ओ सजना' सार्वजनिक गरिन्।

तर यो ठ्याक्कै उनको आफ्नो गीत भने होइन। यो सन् १९९९ मा रिलिज भएको फाल्गुनी पाठकको 'मैने पायल है खनकाई' गीतको अफिसियल रिमिक्स हो। कुनै समय निकै चर्चित भएको गीत हो यो।

नेहाले उक्त गीत रिमिक्स गरेपछि यतिबेला फाल्गुनी पाठकको प्रतिक्रिया सार्वजनिक भएको छ। फाल्गुनीले रिमिक्स मन नपरेको भावमा भनिन्, 'ओरिजिनल गीतमा एकदम सादगीपन थियो जसका कारण मानिसहरूलाई मन परेको थियो।'

उनका अनुसार पुरानो समयमा बन्ने गीत, भिडियो, शब्द वा संगीत एकदमै सादगीपूर्ण हुन्थ्यो। र यही कुराको अभाव अहिले भएको उनको ठम्याई छ। उनले भनिन्, 'आजभोलि गीतहरू रिमिक्स हुँदैछन्। यीमध्ये केही एकदम राम्रा छन्। तर गीत बनाउने बेला यस्ता कुरा ख्याल गर्नुपर्छ। यसैकारण होला आजकल मानिसहरू यस्ता गीत मन पराउँदैनन्।'

यद्यपि नेहाको रिमिक्समै पनि हालसम्म १८ मिलियनभन्दा बढी भ्युज आइसकेको छ। आलोचना गर्नेको पनि कमी चाहिँ छैन।

यता ओरिजिनल गीतमा ३५१ मिलियन भ्युज छ।

८ असोज, २०७९, ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।