पल प्रकरणमा फैसलाको पूर्ण पाठमा नअटेको व्याख्या 'बच्चा कसरी हुन्छ?' प्रेमी-प्रेमिका मात्र भएर वा करणीबाट !

पल प्रकरणमा फैसलाको पूर्ण पाठमा नअटेको व्याख्या 'बच्चा कसरी हुन्छ?' प्रेमी-प्रेमिका मात्र भएर वा करणीबाट !

काठमाडौँ : पीडित नाबालिका र पल शाहलाई सँगै राखेर कलाकार दुर्गेश थापा सहितले गरेको विवाह, गर्भवती लगायतका संवादबारे अदालतमा पक्ष-विपक्ष दुवैले रिहर्सलको भएको झुटो बोले। शाहले बयानमा अडियो आफ्नै भएको स्वीकार गरे पनि अदालतको बकपत्रमा हैन भने।

पीडित नाबालिकाले अडियो सक्कली भएको तर त्यो रिहर्सलको भएको दाबी गरिन्। दुर्गेश थापाले बयान बदल्दै अदालतको बकपत्रमा त्यो पल र नाबालिकाविचको सम्बन्धबारे छलफल भएको नभई म्युजिक भिडियोको संवादको रिहर्सल भएको दाबी गरेका थिए।

तर अदालतले यसलाई अश्लील संवाद मात्रै भनेर यही अडियो संवादलाई प्रमाण मान्दै पल र नाबालिकाविच प्रेमी-प्रेमिकाको सम्बन्ध रहेको स्विकार्यो। जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले यही संवादसँगै एसएमएस र म्यासेजलाई आधार मानेर पलले नवबालिकामाथि यौन दुरुपयोग गरेको भन्दै कैद सजाय सुनाउँदा संवादमा भएका करणी पुष्टि हुने संवादहरूलाई भने नजरअन्दाज गरेको फैसलाको पूर्ण पाठको व्याख्याले देखाएको छ।

फैसलाको पूर्ण पाठमा समेटिएको अडियोको संवाद यस्तो छ :

'यसमा चाही के छ भनेसि यो यति ठुलो डिसिजन लिनुपर्छ नै भन्ने छैन। किनभने उ प्रेगेनेन्ट भएको भए....मैले गर्दा प्रेगनेन्ट भएको भए... समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो... बिहे गर्ने, स्विकार्ने की नस्विकार्ने अब गर्लफ्रेन्ड ब्वाइफ्रेण्डमा अरूको बाहिर हेर्नुस्..... अब अहिले यही छ..... कान्छी गर्लफ्रेन्ड ब्वाइफ्रेण्डमा अण्डरस्ट्यान्डिङमा भयो होला...... हामी सँगै हुँदा केही भयो होला तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि लास्टमा स्विकार्नै पर्छ ? विवाह गर्नैपर्छ ?....'

अदालतले पल र पीडितको अडियो स्विकार गरेको संवाद

अदालतले 'उ प्रेगनेन्ट भएको भए', 'बच्चा भएको भए', ' एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि' भन्ने अडियो पलकै भनेर स्वीकार गरेको छ। अनि यसलाई दुर्गेश या अन्यले दाबी गरे जस्तो कुनै म्युजिक भिडियोको रिहर्सलको भएको दाबी पनि स्वीकार गरेको छैन। अदालतले बाल यौन दुरुपयोगमा प्रमाण मानेको यही अडियोका शब्दहरू नै अभियुक्त पल शाह र नाबालिकाविच करणी भएको हो हैन भन्ने प्रस्ट्याउन  पर्याप्त छैन र !

 यी प्रमाणलाई अदालतले'अभियोगमा गरिएको दाबी बाहेक बस्तुनिष्ठ प्रमाण कागजबाट देखिन नआएको' भन्दै बलात्कार अभियोगबाट सफाइ दिएको देखियो।

 फैसलाको पूर्ण पाठमा एकल इजलासले प्राप्त प्रमाणहरूको व्याख्यामा एकै प्रकृतिका प्रमाणलाई पनि बलात्कारको हकमा प्रमाण स्वीकार गरेको देखिएन। तर त्यही प्रमाणलाई यौन दुरुपयोगमा भने स्वीकार गरेको छ।

बयान बदल्दै पीडितले अदालतमा पीडितले आफू पलको फ्यान रहेको र आफूहरूबिच कुनै प्रेम सम्बन्ध नरहेको दाबी गरिन्। पलले त सामान्य हाई हेल्लो मात्रको सम्बन्ध रहेको दाबी गरे। नाबालिकाका बाबुले अर्कैको दबाबमा जाहेरी दिएको तर्क गरे।

बयान बदल्दै अदालतमा भएको यी तीनै बकपत्रलाई अदालतले अस्वीकार गर्यो। पीडित र पलबिचको सम्बन्ध हाई हेल्लोको अवस्थामा मात्र नरहेको र पलले नवबालिकासँग प्रेमी-प्रेमीकाको व्यवहार गरेको अदालतले ठहर गर्यो।

जाहेरीकर्ता नाबालिकाको बाबुले अर्काको दबाबमा जाहेरी दिएको दाबी पनि पूर्ण फैसलामा स्वीकार गरिएको छैन। पलले सामान्य सम्बन्ध मात्रै हो भनेर गरेको दाबीलाई अडियोको संवाद, दुवैबिचको मेसेन्जरको सन्देश अनि एसएमएसले गलत देखाएको भन्दै दुबैबिच प्रेमी-प्रेमिकाको सम्बन्ध रहेको स्विकारेको छ।

दुवैबिचको सम्बन्धबारे धेरै खुलाउने अडियो जसलाई अदालतले सो अडियो पलकै भएको स्वीकार गर्यो त्यसलाई पलले बयानमा आफ्नै अडियो रहेको बताएका थिए। तर अदालतमा अडियो आफ्नो नभएको दाबी गरे। अदालतको बकपत्रमा अडियाबारे पलले अस्वीकार गर्दा नेपाल प्रहरीमा रहेको प्रविधि मार्फत जो आवाज कसको हो भन्ने प्रमाणित गर्न सकिने भए पनि अदालतले सो आदेश गरेको देखिएन।

सम्बन्ध सामान्य हैन : अदालतले दुबैको सम्बन्धबारे गरेको ब्याख्या।

अदालतले सो आवाज पलकै भएको ठहर गर्यो तर वैज्ञानिक प्रमाणका आधारमा नगरी पलको पहिलो बयानलाई टेकेर। नाबालिका अनि दुर्गेशले अडियो आफूहरूको भएको स्विकारे पनि रिहर्सलको दाबी गरेका थिए। तर केको रिहर्सलको भन्ने खुलाएको देखिएन। अदालतले उनीहरूको दाबीलाई झुटो ठहर गर्यो।

अदालतमा भएको बकपत्रमा गरिएका दाबीहरू जसले बाल यौन दुरुपयोगमा बल पुर्याउँछ त्यसलाई प्रमाण स्वीकार गर्दै अदालतले साढे २ वर्ष कैद सजायको फैसला गर्दा बलात्कार प्रमाणित हुनसक्ने प्रमाणहरूलाई भने व्याख्या मार्फत अस्वीकार गरेको देखियो फैसलाको पूर्ण पाठमा।

अहिलेसम्म बलात्कारको सबैभन्दा ठुलो प्रमाण पीडित र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई स्वीकार गर्दै आएको देखिन्छ।

पीडित नाबालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा ' Hymen Heald scratch with Hymenal injury at 7 & 5 o clock position' भनेर उल्लेख गरिएको छ। स्वास्थ्य परीक्षणमा कन्याजाली च्यातिएको पुष्टि भयो।

अदालतमा पीडितले आफूले साइकल चलाउने अनि अरूलाई पनि सिकाउने गरेको भनेर दिएको बयान र स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले साइकल चलाउँदा, भलिबल खेल्दा, हस्तमैथुन गर्दा पनि कन्याजाली च्यातिन सक्ने र दाग देखिन सक्ने भनेको बकपत्रलाई आधार मान्दै एकल इजलासले कन्याजाली च्यातिनुलाई मात्र करणीको प्रमाण स्वीकार गर्न नसकिने भनेर व्याख्या गरेको देखिन्छ।

कन्याजाली च्यातिनुको कारण करणी वा बलात्कारका कारण हो भनेर अनुमान गर्न पनि नाबालिकाले साइकल चलाउँथे अनि सिकाउँथे भनेकाले मिलेन भनेर अदालतले व्याख्या गरेको छ। बदनाम गर्न झुटो जाहेरी दिएको अस्वीकार गरेको अदालतले बलात्कार वा करणी भएको पनि स्वीकार गरेन।

फैसलाका पूर्ण पाठमा काटिएका तर्क र व्याख्या

फैसलाको पूर्ण पाठमा समेटिएका बयान व्याख्या हेर्ने हो भने विरोधभाषहरु देखिन्छन्। पलले अनुसन्धानकोक्रममा बयानमा'रातको साढे ११ : ३० बजे पीडितको कोठामा गएर तिमिलाई हिजोको जस्तो डर त लागेको छैन नि ल राम्रोसँग सुत भनी आफ्नो कोठामा आएको उल्लेख गरेका छन्।

अनि 'विवाह गर्न जोड गरेकाले तीन वर्ष सँगै बसी मिलेर काम गर्ने अनि २० वर्ष उमेर पुगेपछि विवाह गर्छु' भनेको बयानमा उल्लेख छ। रिसोर्टमा रक्सी खाएको, प्रेम सम्बन्ध नभएको अनि अडियो आफ्नै भएको बयानसँगै उनले आफू कोठा नम्बर १०१ र पीडित नाबालिका कोठा नम्बर १०२ मा बसेको बयान दिए।

तर अदालतको बकपत्रमा यी सबै अस्वीकार गरे। उनले रक्सी खाएको बारे' सबैले कर गरेकाले एक पेग रक्सी खाएको दाबी गरे। उनले रिसोर्टको कोठा नम्बर थाहा नभएको, बेलुका नाबालिकाको कोठामा नगएको, गुड नाइट भनेर आफ्नै कोठामा गएर सुतेको, सुटिङमा सामान्य भेटघाट मात्र भएको अनि कहिलेकाहीँ हाई हेल्लो गरी म्यासेज गरिएको हुनसक्छ भन्ने दाबी गरे।

फसाउन खोजेको हैन : पीडितले फसाउन झुठो बयान दिएको पलको दाबीबारे अदालतलको ब्याख्या।

बकपत्रमा उनले गरेका अधिकांश दाबी अदालतले अस्वीकार गरेको बकपत्रले देखाउँछ। अडियो अस्वीकार गर्यो अदालतले अनि सामान्य हाई हेल्लोको मात्र सम्बन्ध हो भन्ने पलको बकपत्रलाई पनि अदालतले मानेन।

बयानमा पटक-पटक बलात्कार गरेको उल्लेख गरेकी पीडितले अदालतको बकपत्रमा भने सबै अस्वीकार गरिन्। उनले आफ्नो बयान बयान झुटो भएको बताइन् अनि आफू पल शाहको फ्यान भएको दाबी गरिन्।

आफूहरूबिच नराम्रो सम्बन्ध नभएको र मिडियामा नराम्रो कुरा आएकाले सहन नसकी बुबाले जाहेरी दिएको दाबी गरिन्। उनले पनि हाई हेल्लोसम्मको म्यासेज आदानप्रदान हुन्थ्यो भन्दै प्रमाणको रूपमा पेस भएको अडियो रिहर्सलको भएको दाबी गरिन्।

यति मात्रै हैन उनले 'हामीबिच माया प्रेम छैन' समेत भनिन्।

योगेश शाह, दुर्गेश थापाले पनि अडियोलाई म्युजिक भिडियोको रिहर्सल भएको दाबी गरे अदालतको बकपत्रमा। बयानमा भोजराज बस्ती सहितले अन्यले कसैले मादक पदार्थ नखाएको दाबी गरे पनि पलले नै अन्यले कर गरेकाले एक गिलास खाएको भनेर अदालतमा बकपत्र दिएका थिए।

कुनै बयानमा रिसोर्ट सञ्चालिकाको आमाले बोलाएर लगेर छोरीसँग सुताएको भनिएको त कतै आफैँ आएर सुतेको दाबी गरिएको छ।

पहिलो बयान र अदालतमा दिएको बकपत्रमा वादी र प्रतिवादी अनि साक्षीहरूको भनाई एक अर्कासँगै क्रस हुने गरी आएको फैसलाको पूर्ण पाठमा समेटिएको अंशमै देखिन्छ।

अदालतले फैसलाको क्रममा कुनै तर्कमा बयान टेक्यो। जस्तो अडियो। अडियोको संवाद पनि स्वीकार गर्यो र अश्लील संवाद भएको उल्लेख गर्यो। दुवैको सम्बन्ध प्रेमी-प्रेमिकाको भएको पनि ठहर गर्यो। पीडितको बाबुले कसैको लहडमा आएर जाहेरी दिएको दाबी पनि अस्वीकार गर्यो।

नाबालिगसँगको सम्बन्ध दुरुपयोग गरेको भन्दै पललाई नाबालिग यौन दुरुपयोगमा दोषी ठहर गर्दा एकल इजलासले बलात्कार दाबी गरिएका बयानहरू, कन्याजाली च्यातिएको पुष्टि गरेको स्वास्थ्य परीक्षण प्रतिवेदन, करणी देखाउने अडियोका संवाद लगायतकालाई अदालतको बकपत्रसँग दाँज्दै बलात्कारको अभियोगबाट भने सफाइ दियो।

७ असोज, २०७९, २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।