जटिल बन्दै डा. केसीको स्वास्थ्य, शुक्रबारको वार्ता पनि असफल

जटिल बन्दै डा. केसीको स्वास्थ्य, शुक्रबारको वार्ता पनि असफल

काठमाडौंः सात बुँदे माग राखेर सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

धनगढीबाट सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज ल्याइयो।

शुक्रबार अस्पतालले विज्ञप्ति जारी गरी डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जनाएको छ।

प्रयोगशाला परीक्षणको रिपोर्टमा केसीको शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको र त्यसको आपूर्तिका लागि उनले इन्कार गरेको उल्लेख छ।

डा. केसीले सात बुँदे माग राख्दै भदौ २७ गतेदेखि धनगढीमा अनसन सुरू गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि २९ गते बेलुका सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

डाक्टर केसीकाे टाेलीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेर निरन्तर वार्ता भए पनि सफल हुन सकेको छैन। शुक्रबारको वार्ता पनि असफल भएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

यसैबीच शनिबार बृहद् नागरिक आन्दोलनले डा. केसीको सत्याग्रहमा ऐकबद्धता जनाउँदै माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ।

७ असोज, २०७९, १९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।