पल केसमा अदालतले कन्याजाली च्यातिनुलाई बलात्कारको प्रमाण मानेन, बालिकासँग प्रेमी-प्रेमिकाको सम्बन्ध भएको स्वीकार्‍यो

पल केसमा अदालतले कन्याजाली च्यातिनुलाई बलात्कारको प्रमाण मानेन, बालिकासँग प्रेमी-प्रेमिकाको सम्बन्ध भएको स्वीकार्‍यो

काठमाडौं : कलाकार पल शाहलाई बलात्कारको अभियोगमा सफाइ दिँदै नाबालिग यौन दुरुपयोगमा दोषी ठहर गर्दै जिल्ला अदालत नवलपुरबाट भएको फैसलाको पूर्ण पाठमा बलात्कारको प्रमाणमा नयाँ व्याख्या आएको छ।

यस अगाडि पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कन्याजालीलाई मुख्य प्रमाणको रूपमा स्वीकार गर्ने गरिएको भए पनि सो फैसलामा भने कन्याजाली च्यातिनु मात्र बलात्कार भएको प्रमाणको रूपमा स्वीकार गर्न मानिएको देखिएन।

फैसलाको पूर्ण पाठमा पीडितको स्वास्थ्य जाँच परीक्षणबाट कन्याजाली च्यातिएको भनी उल्लेख भए पनि शारीरिक सम्पर्क वा करणीको कारणबाट नै कन्याजाली च्यातिएको हो भनी अनुमान गर्न समेत पीडितले नै अस्वीकार गरेकोलाई मुख्य आधार बनाइएको छ।

प्रारम्भिक अनुसन्धानमा पीडितले शाहले बलात्कार गरेको स्वीकार गरेकी थिइन्। तर पछि अदालतमा उनले बयान बदलिइन्। कन्याजाली च्यातिएको सवालमा उनले सानैबाट साइकल चलाउने र अरूलाई सिकाउने गरेको हुँ भनी अदालतमा गरेको बकपत्रले स्वास्थ्य प्रतिवेदनलाई खण्डित गरेको व्याख्या गरिएको छ।

जबरजस्ती करणीको कसुर प्रतिवादीबाट भएको हो भन्ने अभियोगमा गरिएको दाबी बाहेक अन्य बस्तुनिष्ठ प्रमाण कागजबाट देखिन नआएकोले प्रतिवादीबाट अभियोगमा माग दाबी गरिएजस्तो कसुर गरेको नदेखिँदा कसुरबाट सफाइ पाउने ठहर्छ,' फैसलाको पूर्ण पाठमा उल्लेख छ।

अदालतले पीडितले बनावटी जाहेरी दिएको भन्ने पलको पक्षको जिकिरलाई भने स्वीकार गरेको छैन। अदालतले पीडित बालिका पनि गायन र कलाकारिता क्षेत्रमै सक्रिय रहेको र आफ्नो क्षेत्रलाई नै प्रत्यक्ष असर पर्ने गरी कसैले प्रलोभनमा परेर अरू कसैको कलाकारिता र अभिनयलाई मेट्ने उद्देश्यले मात्र जाहेरी दिएको भन्ने अनुमान गर्न मिल्ने नदेखिएको उल्लेख छ।

फैसलाको पूर्ण पाठमा पललाई सफाइ दिन जाहेरीकर्ता, पीडितले अदालतमा दिएको प्रमाणलाई आधार बनाइएको छ भने पललाई नाबालिगको यौन दुरुपयोग गरेकोमा दोषी ठहर गर्न भने अदालतको बयान अस्वीकार गर्दै प्रारम्भिक बयानलाई प्रमाण मानेको छ।

अदालतले पल र नाबालिगबिच कलाकारिताकोक्रममा सामान्य सम्बन्ध मात्र रहेको र सामाजिक सञ्जालमा नकारात्मक कुरा आएपछि जाहेरी दिन आएको भन्ने तर्क समेत अस्वीकार गर्दै सार्वजनिक भएको पलको अडियोलाई प्रमाणको रूपमा स्वीकार गरेको छ।

फैसलाको पूर्ण पाठमा पलले पीडितलाई बाल कलाकारको रूपमा सामान्य रूपले लिई आफ्नो सम्बन्ध भेटघाट, सामान्य बोलीचाली मात्रमा सीमित राखेको भन्ने अडियो क्लिपमा रहेको अश्लील संवाद र प्रेमी प्रेमिका बिच हुने सम्बन्ध तथा कस्तो अवस्थामा विवाह गर्नुपर्ने हुन्छ भन्ने समेत समेटिएको संवादबाट मान्न नसकिने व्याख्या गरेको छ।

प्रारम्भिक बयानमा पलले सो आवाज आफ्नो रहेको स्वीकार गरेको तर अदालतमा जबरजस्ती बयान कागजमा सहीछाप गर्न लगाएको भनेर दाबी गरे पनि दबाबमा बयानमा सहीछाप गरेको दाबी अस्वीकार गरेको छ।

गैँडाकोटको होटेलमा बस्दा मदिरा खाएर कोठामा गएको, सुटिङ सकेर काठमाडौँ फर्किएपछि पनि एसएमएस आदानप्रदान भएको र फोन सम्पर्कमा बसेको तथा मध्यबानेश्वरमा पीडित र पलबिच भएको संवादले पल पीडित नवबालिकासँग प्रेमी प्रेमिका जस्तो सम्बन्धमा बसेको देखिएको ठहर्याएको देखिन्छ।

प्रेमी प्रेमिकाबिच सहमतिमा सम्बन्ध हुनु सामान्य रहेको र गर्भवती भए मात्र विवाह गर्नुपर्ने भन्ने पलको अडियो संवाद,  म्युजिक भिडियोको सुटिङको क्रममा होटेलमा बस्दा राती मदिरा पिएर नाबालिका सुतेको कोठामा गएको, दुबैबिच भएको एसएमएस र फोन संवादलाई प्रमाण मानेर अदालतले पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै कैद सजाय र जरिवाना गरेको फैसलाको पूर्ण पाठबाट देखिन्छ।

७ असोज, २०७९, १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।